
काठमाडौँ- मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले बियर उत्पादन व्यवसायमा पनि हात हालेको बताएका छन्।
तिहारपछि बजारमा आउने भनिएको बियरको नाम ‘मार्सी बियर’ राखिएको छ। सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईँ मेडिकल कलेज र अस्पतालपछि बियर उत्पादनमा किन प्रवेश भए भन्नेबारे देशसन्चारले उनीसँग कुराकानी गरेको छ।
१.तपाई मेडिकल कलेजको सञ्चालक, बियर उत्पादनमा पनि हात हाल्ने सोच कसरी आयो ?
– नेकपाका दुई अध्यक्षलाई मार्सी चामलको भात खुवाएको कुराले मलाई धेरैले उडाए। जिस्काए। फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मविरुद्ध लेख्ने र जिस्काउनेहरुलाई मार्सीकै ब्रान्डमा जवाफ दिन बियर उत्पादनमा हात हाल्न लागेको हुँ। उनीहरुले जवाफ पनि पाउन् र मार्सीजस्तो गुणस्तरीय चामलको बियर पनि खान पाउन् भन्ने मेरो सोच हो। आखिर आगोले पोलेको घाउ आगोले निको हुन्छ नि। बियर ७० प्रतिशत जौ र ३० प्रतिशत चामलको खुदी राखेर बनाइने रहेछ। ३० रुपैयाँ केजीको खुदीभन्दा १ सय ५० रुपैयाँभन्दा बढी प्रति केजी रहेको मार्सी हालेर बियर बनायो भने त गुणस्तरीय स्वदेशी बियर बजारमा आउँछ नि। वास्तवमा नेकपाका दुई अध्यक्षलाई भात खुवाउनुअघि जुम्लाको मार्सी चामलको चर्चा नै थिएन। नेपालको त्यसमा पनि जुम्लाको चामलको चर्चा कुन उचाइसम्म भयो र भएको छ, त्यो सबैलाई थाहा छ। म भनेको स्वदेशी मान्छे अनि स्वदेशमै उत्पादन भएको चामलले ठाउँ पाउनु भनेको त सरकार र उपभोक्तालाई नै फाइदा हुन्छ नि।
२.बियर उत्पादनको तयारी कहाँ पुगेको छ ?
– हामीले भैरहवामा रहेको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री किन्न ५/६ महिनाअघि देखि प्रयास गरेका थियौँ। गत साता मात्र स्वामित्व हस्तान्तरण भएको छ। मैले चार अर्बभन्दा बढी रुपैयाँ लगानी गरेको छु। टाइगर ब्रुअरीका प्रमोटर तेज खड्काको केही हिस्सा पनि यसमा छ। हामीले डेढ महिनाअघि देखि मार्सी बियरको ब्रान्ड दर्ता र बोतलहरुको डिजाइन गर्ने काम सुरु गरेका थियौँ। बोतलहरु भारतमा बन्ने भएकाले त्यसको काम भइरहेको छ। तिहारलगत्तै हामी मार्सी बियर बजारमा ल्याउछौँ। अहिले हामी अन्नपूर्ण बियर तथा मार्सी प्रिमियम र मार्सी स्ट्रङ ल्याउने तयारी गरिरहेका छौँ। भविस्यमा हार्ड ड्रिङ्स उत्पादनमा पनि हात हाल्ने योजना छ।
३.मार्सी चामल नै मिसाउने भएपछि त बियरको मूल्य महँगो पर्ला नि?
-बियरमा ६० प्रतिशत ट्याक्स लाग्ने रहेछ। यसले गर्दा बियरको मूल्य महँगो पर्नु स्वभाविक हो। तर हामी २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म प्रति बोतल मुल्यमा मार्सी बियरलाई बजारमा पुर्याउने तयारी गरिरहेका छौँ। हामीलाई एक बोतलमा २० देखि २५ रुपैयाँ फाइदा हुने रहेछ। तर अहिले नाफा कमाउनेभन्दा पनि ब्रान्डलाई स्थापित गर्ने कुरा महत्वपुर्ण कुरा हो। रोजगारीका अवसरहरु सृजना गर्ने कुरा मुख्य हो। स्वदेशमा स्वदेशकै ब्रान्ड मिसाएर स्तरीय उत्पादन गर्ने कुरा मुख्य हो।
४. यसले राज्यलाई चाहीँ के योगदान हुन्छ ?
-हेर्नुस्, हरेक वर्ष स्वास्थ्यका नाममा, शिक्षाका नाममा, रक्सिका नाममा अर्बौँ नेपाली रुपैयाँ विदेशिन्छ। यी कुराहरुलाई स्वदेशमै उपलब्ध हुने वातावरण मिलायौँ भने त्यो पैसा त बच्यो नि। मैले मार्सी बियरले आगामी वर्ष सरकारलाई १० अर्ब रुपैयाँ ट्याक्स बुझाओस् भन्ने सोच राखेको छु। कलेज र होटलसहितमा गरेर अब मैले ३५ सय भन्दा बढीलाई रोजगारी दिने छु। योभन्दा ठुलो योगदान के हुन सक्छ?