विज्ञान/दर्शन

जिन एडिटिङ- अब रोगहरु हुनेछन् एकादेशको कथा

जिन एडिटिङ- अब रोगहरु हुनेछन् एकादेशको कथा
+
-

सन् २०१८ अन्त्यतिर चीनका एकजना वैज्ञानिकले मलाई रावणको सम्झना गराए।

हिन्दूहरुको अति पवित्र धार्मिक ग्रन्थ रामायणका एउटा प्रमुख पात्र रावणबारे अतिशय किम्वदन्ती व्याप्त छन्। चीनको ‘सउदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ का वैज्ञानिक जिआनकुईले ती अनेकौँ किम्वदन्तीमध्ये रावणका छोरा मेघनादको जन्मसम्बन्धी प्रकरण पुनः स्मृतिमा ल्याइदिए।

सनातन हिन्दू धर्म परम्परामा बालबालिकाको भविष्य र भावी जीवनमा जन्म समयको ग्रह-गोचरको अत्यन्त महत्वपूर्ण भूमिका रहने विश्वास गरिन्छ। नवजात शिशु जन्मिँदा आकाशमा भएका ग्रह नक्षत्रको स्थितिले उसको जीवन, स्वास्थ्य र जीवन सम्बन्धी अनेकन कुरालाई प्रभवित मात्रै होइन, निर्धारित नै गर्छ।

रावण आफ्नो समयको प्रकाण्ड विद्धान हुनका साथै श्रेष्ठ ज्योतिषविद् पनि थिए। उनले छोराको जन्म समयमा सबै ग्रह-गोचर-नक्षत्रलाई निर्दिष्ट स्थानमा बस्ने आदेश दिए। उनले यो संयोजन यसरी व्यवस्थित गरेका थिए कि जन्मिने शिशु आजन्म निरोगी, अपराजित र अवध्य भएर जन्मियोस्।

सुन्दर एवं अति सुगठित प्रकरण छ यस दन्त्य कथाको! सबै ग्रह नक्षत्रले लंकाधिपति दशानन रावणको आज्ञा शिरोधार्य गरी निर्दिष्ट स्थानमा हाजिरी दिए तर लोकमा महादशा निम्त्याउने कारक भनी कुख्यात रहेको ग्रह शनिले सानो शरारत गरिदिए। उनी निर्दिष्ट स्थानमा त बसे तर उनले आफ्नो खुट्टा अन्य ग्रहको परिधिसम्म पसारिदिए। बस यही एक खोट थियो रावणको छोरा इन्द्रजित मेघनादको जीवनमा जसले गर्दा उनी रामानुज लक्ष्मणबाट काल कलवित भए।

यसै सानो प्रसंगबाट हिन्दूहरुलाई शनि ग्रहको वलय (रिंग्स) हुने कुरा ज्ञात रहेको पुष्टि गर्छ।

आधुनिक विज्ञानले हिन्दू अवधारणासँग सहमति नराखे पनि मानव जीवनको आदि यावत पक्षको निर्धारण हुनेमा ‘जीनोम’, जिन, डीएनए, आनुवांशिकीको महत्वपूर्ण भूमिका हुने तथ्य उद्घाटित गरी सकेको छ।

जन्मिने शिशुको स्वास्थ्य कस्तो हुन्छ, रोग प्रतिरोधात्मक शक्ति कस्तो हुन्छ, शरीरमा हुने बाह्य आक्रमण/संक्रमणको संभावना कस्तो रहन्छ, आँखाको रंग, छालाको रंग, शारीरिक गठन आदि यावत कुराको निर्धारण जिनले गर्ने गरेको अब त लगभग सामान्यजनलाई पनि थाहा भइसकेको छ।

चिनियाँ वैज्ञानिक जियानकुईले एड्स संक्रमित दम्पतिको जुम्ल्याहा बालिका लूलू र नानालाई एड्समुक्त बनाई जन्माउने सफलता पाए। जन्मिएका बालिका एड्समुक्त मात्रै थिएनन्, उनीहरुको शरीर जीवनमा कहिल्यै एचआइभी भाइरसबाट संक्रमित नहुने गरी सुरक्षित रहेको थियो।

हाम्रो स्वास्थ्य र हामीमा हुने तमाम गुणको संवाहक मात्रै होइन, शरीरमा हुने विभिन्न रोग र भाइरस जस्ता बाह्य संक्रमणजनित रोगका संवाहक पनि जिन नै हुने गर्छन्। मानव जीनोममा एउटा जिन को पहिचान ‘सीसीअर ५’ भनेर गरिएको छ। एचआइभी भाइरसको संक्रमण हुँदा यही ‘सीसीअर ५’ जिन ‘म्यूटेट’ भएर एड्स हुने गर्छ।

जियानकुईले जुम्ल्याहा बालिका लूलू र नानाको जीनोम संरचनाबाट ‘सीसीअर ५’ नामक यो जिन काटेर फालिदिए। लूलू र नानाको जन्म हुँदा दुबैको शरीरमा यो जिन थिएन। उनीहरु एड्समुक्त भई मात्रै जन्मेका थिएनन्, उनीहरुको शरीर नै एड्सप्रूफ भएको थियो। एड्स हुने सम्भावना कारक जिन नै थिएन उनीहरुको शरीरमा।

जियानकुईले ‘बायोलोजिकल कैंची’ अथवा ‘जेनेटिक कैंची’का माध्यमले यस जिन लाई काटेर निमिट्यान्न बनाइदिएका थिए। ‘बायोलोजिकल कैंची’ जिन काटने प्राविधिको पपुलर नाम हो। यसको वैज्ञानिक नाम ‘क्रिस्पर -क्यास ९’ (CRISPER -CAS 9 = CLUSTERED REGULARLY INTERSPACED SHORT PALINDROMIC REPEATS ) हो। यस प्रविधि अन्तर्गत ‘जीनोम सीक्वेन्स’ भित्र प्रोटीन पठाएर अवाञ्छित जिनलाई काट्ने काम गरिन्छ।

चिनियाँ वैज्ञानिकले एड्सग्रस्त पिताको वीर्यबाट शुक्राणु झिकेर त्यसलाई एउटा ‘माइक्रोप्लेट्स’मा राखी इंजेक्सनका मार्फ़त त्यस शुक्राणुमा ‘क्यास ९’ र पीसीएसके ९ एसजीअरएनए’ (PCSK 9 sg RNA ) नामक प्रोटीन पठाए। शुक्राणुको ‘क्रोमोजोम्स’मा रहेको ‘सीसीअर ५’ नामक जिन जुनकि स्वयं एउटा प्रोटीन हुन्छ, इंजेक्सन मार्फ़त पठाइएको नयाँ प्रोटिनले यस ‘सीसीअर ५’ नामक प्रोटीन अथवा जिन लाई निष्क्रिय बनाई दिने काम गर्‍यो।

यसरी संशोधित गरिएको शुक्राणुबाट जन्मेको शिशुको जीनोम संरचनामा ‘सीसी अर ५’ जिन अनुपस्थित हुन गयो। जियानकुईले पूर्ण विश्वस्त हुन आमाको पेटमा हुर्किरहेको भ्रूणमा पनि पटक पटक ‘क्रिस्पर क्यास ९’ प्राविधि मार्फ़त प्रोटीन पठाएर ‘सीसीअर ५’ जिन को अवशेष पनि हुने सम्भावनामा विराम लाएका थिए। भन्नु परिरहेन, यस प्रविधिमा निषेचित हुनुभन्दा पहिला नै शुक्राणुबाट जिन काटेर फाल्न सकिन्छ, अथवा शुक्राणु निषेचित भई भ्रूण बनिसकेपछि पनि भ्रूणबाट जिन समाप्त पार्न सकिन्छ।

मानवमा जियानकुईले ‘क्रिस्पर क्यास ९’ प्राविधि बाट ‘जिन एडिटिंग’ गरेर शिशुको जन्म गराएको यो पहिलो घटना थियो। वनस्पति जगतमा ‘जिन एडिटिंग’बाट नस्ल सुधार गरी पात, फल, फूल, आकार, स्वाद परिवर्तित गर्ने प्रचलन पहिला देखि नै प्रयोगमा आइरहेको थियो।

विभिन्न प्रजातिका फल र तरकारीमा हुने गरेको ‘सेल्फ प्रूनिंग ५ जी’ ( SELF PRUNING 5 G ) तथा ‘सीएलभी १’ (C L V 1 ) नामक जिन लाई यसै प्राविधिबाट काटेर फल र तरकारीको उत्पादनमा वृद्धि हुने कार्य हुँदै आयी रहेको थियो ।

यस वर्ष सन २०२० को रसायन विज्ञान तर्फको नोबेल पुरस्कार ‘जिन एडिटिंग’का लागि प्रदान गरिएको छ। यस प्राविधिको अनुसंधानकर्ता महिलाद्वय इमैन्युअल चारपेन्टिएर ( EMMANUELLE CHARPENTIER ) तथा जेनिफर डॉडना (JENNIFER DOUDNA ) ले सन २०१२ मा यस प्राविधिको सफल प्रयोग गरेका थिए। यस ‘जिन एडिटिंग’ का लागि दुबैजनालाई संयुक्त रूपमा नोबेल पुरस्कारबाट सम्मानित गरिएको हो।

इमैन्युअल चारपेन्टिएर।

जेनिफर डानडा।

११ दिसम्बर सन १९६८ मा फ़्रान्समा जन्मिएकी इमैन्युअल ‘बायोकेमिस्ट’, ‘माइक्रोबायोलोजिस्ट’ तथा ‘जेनेटिक्स एक्सपर्ट’ हुन्। इमैन्युअल बर्लिनको ‘म्याक्स प्लांक यूनिट फार साइंस अफ पैथोजन्स’ तथा ‘हम्बोल्ड्ट युनिभर्सिटी’ (Humboldt University) बर्लिनमा कार्यरत छन्। फ़्रान्सको ‘पाश्चर इन्स्टिट्यूट’ बाट ‘एंटीबायोटिक रेजिस्टेंस इन लिस्टेरिया’ (Antibiotic resistance in Listeria ) बारेमा शोध गर्दै डॉक्टरेट गरेकी इमैन्युअलले बायोलोजिकल अथवा जेनेटिक कैंचीको खोज ‘स्ट्रेप्टोकोकस प्योजीन्स ब्याक्टेरिया’माथि अनुसन्धानका क्रममा गरेकी थिइन्।

मानवताको ज्ञात इतिहासमा सबैभन्दा बढ़ी हानि पुर्‍याउँदै आएको यस ब्याक्टेरियामा इमैन्युअलले एउटा अज्ञात अणु ‘tracrRNA’ रहेको पाइन्। ब्याक्टेरियाको प्रतिरोधात्मक प्रणालीमा रहेको यस अणुलाई इमैन्युअलले ‘क्रिस्पर क्यास ९’ प्राविधिबाट काटने सफलता पाइन्। उनको हातमा एउटा ठूलो तालाको चाबी परिसकेको थियो। यस चाबीले मानव जीनोममा ‘जिन एडिटिंग’ को ढोका खुल्न गई रहेको थियो।

आफ्नो यस सफलतापछि इमैन्युअलले ‘युनिभर्सिटी अफ क्यालिफ़ोर्निया बर्कले’को प्रोफ़ेसर प्रसिद्द ‘बायोकेमिस्ट’ जेनिफर डाडनासँगको सह कार्यमा एउटा ‘टेस्ट ट्यूब’मा जेनेटिक कैंची बनाउने सफलता पाइन्।

१९ फेब्रुअरी १९६४ मा वाशिंगटन डीसीमा जन्मिएकी डाडना ‘अरएनए’ विशेषज्ञ हुन्। यी दुबैजना महिलाले नोबेल पुरस्कार पाउनुभन्दा पहिला थुप्रै अन्य पुरस्कार पाइसकेका छन्।

चीनका वैज्ञानिक जियानकुईले इमैन्युअल र डाडनाले विकसित गरेको प्राविधि ‘क्रिस्पर क्यास ९’ जेनेटिक कैंचीका माध्यमले एड्सग्रस्त व्यक्तिको जीनोमबाट एचआइभी एड्सको संवाहक हुने जिन काटिदिएर लूलू र नाना लाई स्वस्थ जन्मिन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

‘जिन एडिटिंग’! मानिसको हातमा यस्तो प्राविधि आएको छ जसको उपयोग र दुरूपयोग दुबैबारे कल्पना गर्न सकिन्न। बुटिकमा कपडा डिजाइन गरेझैँ भविष्यमा जन्मिने शिशु कस्तो चाहिन्छ ‘जिन एडिटिङ’ का माध्यमले जन्मिने शिशु डिजाइन गर्न सकिन्छ।

कैयन असाध्य रोग आदि यावतका भाइरसबाट हुने संक्रमण जसको कुनै औषधि छैन अब ‘जिन एडिटिंग’का माध्यमले त्यों रोग हुने सम्भावनाको बिउ अथवा क्षेत्र नै दग्ध गर्न सकिन्छ। उदाहरणका लागि ‘हेरिडिटेरी टायरोसिनेमिया टाइप १’ ( HEREDITARY TYROSINEMIA TYPE 1) एउटा घातक रोग हो। यही रोग बल्झिएर ‘लिभर’को क्यान्सर हुने गर्छ।

पेन्सिलभानिया विश्वविधालयको ‘पेरेलम्यान स्कुल अफ मेडिसिन’ र ‘फिलाडेल्फिया चिल्ड्रन हॉस्पिटल’का अनुसंधानकर्ताले ‘क्रिस्पर क्यास जेनेटिक कैंची’ का मददले मूसामा यस रोगको जिन काटी दिएर स्वस्थ मूसा जन्माउने सफलता पाएका छन। प्रमुख अनुसन्धानकर्ता विलिएम एच पेरेन्टाउ भन्छन्- भ्रूण अवस्थामै धेरै रोग लाग्ने सम्भावनाको ढोका नै बन्द गर्ने प्राविधि हो यो।

पोर्टल्यान्डस्थित ‘ओरेगन हेल्थ साइन्सेज युनिभर्सिटी’का वैज्ञानिक सोकरत मितालिपोवले अनेकौँ भ्रुणमा यसै प्रविधिबाट आनुवंशिक उत्परिवर्तन सफलतापूर्वक सम्पन्न गरेका छन्। उनले एउटा साक्षात्कारमा भनेका थिए- ‘आईभीएफ’ केन्द्रहरूमा यो प्रविधि व्यवहारिक रूपमा आउन अझै ५, १० वर्षको समय लाग्न सक्छ। अब यस प्रविधिलाई कसैले चाहेर रोक्न सक्दैन। उनले आफूले ‘जिन’ एडिट गरेका भ्रुण भने नष्ट गरेका थिए। भविष्यका मानिसका लागि क्यान्सर, एचआईभी, मुटुरोग, मधुमेह, कोलेस्ट्रोल, फ्याट (ओबेसिटी )जस्ता रोग बितेका युगका कुरा हुने छन्।

यावत किसिमका क्यान्सरका संवाहक कुनै न कुनै जिन र प्रोटीन नै रहेका हुन्छन्। ‘जिन एडिटिंग’बाट यससंग सम्बधित जिन काटेर फाली दिएपछि जीवनमा कहिल्यै क्यान्सर हुने खतरा नै रहँदैन।

कल्पना गर्नुस् भविष्यमा ‘जिन एडिटिंग’बाट हुने मानिस बारे! भविष्यका मानिस विभिन्न आनुवांशिक रोगबाट मात्रै होइन, अनेको अन्य घातक रोगका साथै ब्याक्टेरिया र भाइरसबाट हुनसक्ने संक्रमणबाट पनि पूर्णरूपेण सुरक्षित हुनेछ। उसले आँखाको रंग, केशको रंग, छालाको रंग आफुले चाहे जस्तो बनाउन सक्ने छ।

‘जिन एडिटिंग’ अहिले प्रारम्भिक चरणमा छ। भनौँ अहिलेसम्म यसमाथि प्रतिबन्ध नै लगाइएको छ। विस्तारै विज्ञानका सामु तमाम तथाकथित नैतिकतावादी नतमस्तक हुनेछन् र यस विज्ञानले फड्को मार्ने छ। नोबेल कमेटीले ‘जिन एडिटिंग’लाई पुरस्कृत गरेर यसलाई वैधानिकता प्रदान गर्ने दिशामा ढोका उघारिदिएको छ।

अहिले विश्वमा सन्त्रास फैलाई रहेको कोरोना भाइरसको सटीक उपचार पनि ‘जिन एडिटिंग’ मार्फ़त खोज्न सकिन्छ। विश्वका तमाम जेनेटिक इन्जिनियर, बायोकेमिस्ट, आरएनए, डीएनए विशेषज्ञ, माइक्रोबायोलोजिस्ट, भायरोलोजिस्ट यस दिशामा किन प्रयासरत छैनन, म बुझ्न सकिरहेको छैन।

कोरोना भाइरस कुन प्रोटीनले बनेको हो र मानव कोशिकामा पुगी कुन प्रोटीनको मदतले यसले आफ्नो प्रतिलिपि (रिप्लीकेशन ) बनाउछ। यसबारे अनुसन्धान गरी पत्ता लाएर संक्रमित व्यक्तिको शरीरमा त्यस प्रोटीनको उत्पादन बाधित गरी दिने हो भने भाइरसको संख्यामा वृद्धि नभएर संक्रमण सामान्य अवस्थामै नियंत्रित हुनसक्छ ।

कोरोना भाइरसले संक्रमित हुने मध्ये ८५ प्रतिशत मानिसलाई संक्रमणको कुनै प्रतिकूल प्रभाव पर्दैन। केही दिनमै ती व्यक्ति स्वस्थ हुन्छन्। ख्वै विश्वका वैज्ञानिकले यसपटी ध्यान दिएको ? के यी ८५ प्रतिशत व्यक्तिमा स्वतः नै कोरोना भाइरसलाई आफ्नो प्रतिलिपि बनाऊंन चाहिने प्रोटीनको उत्पादन रोकिन्छ जसले गर्दा कोरोना भाइरसको संख्या वृद्धि हुन पाउदैन र भएका भाइरसलाई उनीहरुको ‘इम्यून’ शक्तिले शीघ्र नै सखाप बनाई व्यक्ति संक्रमण मुक्त हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?