
इन्डियन प्रिमियर लिग- आईपीएल क्रिकेट, चेन्नई सुपर किङ्स र महेन्द्रसिंह धोनीको कप्तानी लामो समयसम्म सँगै जोडिएर चर्चा आउने विषय हुन्। हुन पनि आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्स कम्तिमा हरेकपटक प्ले अफ चरणमा पुगेको छ।
हालसम्म आईपीएलका १० संस्करण खेलेको चेन्नई ८ पटक फाइनल पुगेको छ। तीनपटक विजेता र पाँचपटक उपविजेता बनेको छ। अनि सुरुवातदेखि नै धोनी चेन्नईको कप्तान रहेका छन्। यत्तिको गर्विलो इतिहास भएका क्लबहरु कमै हुन्छन्।
कप्तानका रुपमा धोनीको चर्चा हुनु स्वभाविक छ। टीट्वेन्टी क्रिकेट खेल्न सुरु भएयता नै यो स्वरुपको प्रतियोगितामा धोनीको कप्तानी बेजोड रहँदै आएको छ। सन् २००७ मा आयोजित पहिलो टीट्वेन्टी विश्वकप भारतले जित्दा कप्तान धोनी नै थिए।
त्यसै वर्ष मात्र धोनी भारतीय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए, सिमित ओभरको स्वरुपमा। त्यसको अर्को वर्ष आयोजित पहिलो आईपीएल चेन्नईले जितेको थियो। कप्तानी धोनी नै थिए। त्यसयता उनी ब्याटिङभन्दा पनि बढी विकेटकिपर र कप्तानका रुपमा बढी सफल हुँदै आएका छन्।
टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा धोनी कप्तानका रुपमा सबैभन्दा बढी खेल जित्ने क्रिकेटर हुन्। उनले ४१ खेल जितेका छन्। उनी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी आउट गर्ने विकेटकिपर पनि हुन्।
८७ पटक ब्याट्सम्यानलाई आउट गरेका छन् जसमा ५४ क्याच आउट र ३३ स्टम्पिङ आउट रहेका छन्। ‘हार्ड हिटर’ मानिने धोनीले थुप्रैपटक टोलीलाई एक्लैले खेल जिताएका छन्। धोनीले गत अगष्टमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेका थिए। व्यावशायीक क्रिकेट भने खेलिरहेकै छन्। अहिले भइरहेको आईपीएलमा चेन्नईको कप्तानी धोनीले नै गरिरहेका छन्। तर चेन्नई पहिलो चरण पार गर्ने संघर्षमा छ।
९ खेल खेलिसकेको चेन्नई पुछारबाट एक स्थानभन्दा माथी अर्थात सातौँ स्थानमा रहेको छ। चेन्नईले केवल तीन खेल मात्र जित्न सकेको छ। चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्सभन्दा चेन्नई चार अंकले पछाडि छ। १४ खेलपछि शीर्ष चार स्थानमा रहने टोली प्ले अफमा पुग्नेछन्। आईपीएलमा गर्विलो इतिहाँस रहेको चेन्नईलाई यसपटक प्ले अफ पुग्न सजिलो छैन।
टोलीमा फाप डु प्लेसिस, सेन वाट्सन, अम्बाती रायुडु, साम कुर्रानजस्ता खेलाडी भएर पनि चेन्नईले सफलता हात पार्न सकिरहेको छैन। धोनी आफैले पनि ९ खेलमा एक सय ३६ रन मात्र जोडेका छन्। उनले एकै खेलमा ४७ रनसम्म जोडेका छन्।
यस्तो अवस्थामा चेन्नईले सोमबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ। राजस्थानले पनि ९ खेलबाट ६ अंक जोडेको छ। अन्य दुई टोलीको पनि ९ खेलबाट ६ अंक छ।