
काठमाडौँ- रमेश खरेल नेतृत्वको नेपाल सुशासन अभियानले कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
कोरोना महामारीको विषम् परिस्थितीमा सरकारले आफ्नो जिम्मेवारी बढाउनुपर्नेमा गैह्र जिम्मेवारपूर्ण व्यवहार देखाएको अभियानद्धारा सोमबार जारी विज्ञप्तीमा उल्लेख छ।
‘प्राईभेट अस्पताल महँगा छन्, सर्वसाधरणको पहुँचमा छैनन् र सरकारले नहेर्ने हो भने यो संकटको घडीमा सरकारको औचीत्य के ? जनता कहाँ जाने ? सरकार झनै जिम्मेवार हुदै जानु पर्ने र जनतालाई आशा जगाऊनु पर्नेमा झन झन निराशामा पार्नु के औचीत्यपुर्ण र जनताको पक्षको निर्णय हो ?’, विज्ञप्तीमा भनिएको छ।
अभियानले जनताको स्वास्थ्य सुविधा र आफ्नो जिम्मेवारीप्रति सजग हुन आग्रह गर्दै भनेको छ,’हाम्रो अभियान यस्ता गैरजिम्मेवार, मानवता विरोधी, निराशाजनक र जनतालाई आहत पुर्याउने सरकारी रवैयाको निन्दा र भत्सर्ना गर्दछ।’