
काठमाडौँ- त्रिपुरेश्वरसहित काठमाडौँ उपत्यकाका २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सवारी व्यवस्थापनलाई ‘म्यानुअल’बाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन मंगलबारबाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरे।
रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो । पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका लागी स्थानिय निकाय, सडक बिभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भैरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडी, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडी)लगायत क्षेत्रका ट्राफिक लाईट सञ्चालनमा पनि ल्याइसकेको छ ।