
इंग्लिस प्रिमियर लिग फुटबलका एस्टन भिल्लाको विजयी यात्रा टुंगिएको छ । लिगको पाँचौँ खेलमा आएर लीड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरी उसको विजयी यात्रा टुंग्याएको हो ।
सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा लीड्ससँग पराजित भएको हो । लीड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् ।
पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ । भिल्लाले सन् १९३०–३१ पछि पहिलोपटक लिगमा सुरुका चार खेलमा लगाता जित दर्ता गरेको थियो ।
लगातार पाँच खेल जितेर क्लबको कीर्तिमान कायम गर्ने भिल्लाको मनसायमा लीड्सका प्याट्रिक बाधक बने । जितपछि तेस्रो स्थानको लीड्सको ६ खेलबाट १० अंक भएको छ ।
दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ । समान पाँच खेलबाट १३ अंकसहित एभर्टन शीर्ष स्थानमा छ।