
मोरङ– कोरोना महामारीले थिलथिलो बनेको पर्यटन क्षेत्रसँगै तेह्रथुमको टुङ्ना गुफा प्रचार–प्रसारको पर्खाइमा रहेको छ।
तेह्रथुमको म्याङलुङ नगरपालिका ९ स्थित दसकते सामुदायिक वनमा अवस्थित ओडारसँगै सिंहदेवी मन्दिर उचित संवर्द्धन र प्रचार–प्रसार नहुँदा पछि पर्दै गएको गुनासो स्थानीय बासिन्दाहरुले गर्दै आएका छन्।
पहाडको भीरको बीच भागमा रहेको सानो ओढारमा मादलको धुन जस्तै आवाज निस्कनु गुफाको विशेषता मानिन्छ। परापूर्वकालमा स्यालको छालाबाट निर्मित मादल यसै स्थानमा राखिएकाले यस्तो आवाज आएको किंवदन्ती छ। त्यस्तै प्राचिनकालमा बहुमूल्य गरगहना हराउने साथै चोरी हुने डरले यहाँ लुकाइएको हुँदा धातुको जस्तो आवाज निस्कने गरेको किंवन्दती स्थानियवासी जयनाथ लिम्बूले सुनाए।
त्यसैगरि सामाजिक सञ्जालमा यसकोबारे स्थानीयले जानकारी राख्न थालेपछि केही मात्रामा आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको उनीहरुको बुझाइ छ। यद्यपि तेह्रथुमबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने नेकपाका दुईजना प्रदेश सांसद तेजमान कान्दङ्वा र लछुमन तिवारी भने गुफाबारे अनविज्ञ रहेको बताउँछन्।
गुफाको ठेगाना थाहा नभएको बताएका सांसद तिवारीले आफूलाई सो गुफाबारे पत्तो नभएको बताए। त्यसैगरि अर्का प्रदेश सांसद कान्दङ्वाले म्याङलुङ नगरपालिका निर्माण हुने क्रममा केही गाविस एक भएको र अहिले गुफाबारे जानकारीमा आउन नसकेको बताए।
स्थानीयले प्रचार–प्रसारको कमीले गुफा र मन्दिरबारे धेरैलाई जानकारी हुन नसकेको बताइरहँदा दुवै प्रदेश सांसदले घरभित्रै रहेको मन्दिर र गुफाबारे अनविज्ञ रहेको बताएका हुन्।
स्थानीय सरकारसँगै प्रदेश सरकारले धार्मिक क्षेत्र र ऐतिहासिक गुफाको प्रवर्द्धनमा चासो नदेखाउँदा दुवै चीज ओझेलमा पर्दै आएको स्थानीयको गुनासो छ।
सदरमुकाम म्याङ्लुङ बजारबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने यस गुफाको उचित प्रचार–प्रसार र व्यवस्थापन गर्न सके म्याङ्लुङ बजार घुम्न आउने पर्यटकको लागि राम्रो गन्तव्य हुनसक्ने स्थानीयको अनुमान छ।