
झापा- जब चाडवाड लाग्छ तब सन्थाल समुदायका मानिसहरु बाजा गाजाका साथ नृत्य गर्दै पसलहरुमा दान दक्षिणा माग निस्कन्छन्। यो उनीहरूको वर्षौंदेखिको साँस्कृतिक अभ्यास हो।
एकजनाले नेतृत्व गरेको टोलीमा करिब २० जना सहभागी हुन्छन्।
जब चारैतिर दसैँको रौनक सुरु हुन्छ पूर्वी तराईका आदिवासी सन्थाल बस्तीहरुमा विशेष किसिमको रौनक सुरु हुन्छ।
सन्थाल नाचका बाजागाजा सन्थाल बस्तीहरुमा बज्न थाल्छन्। दसैँका बेलामा सन्थाल समुदायका मानिसहरू मूरली, झ्याम्टा लगायतका बाजागाजा बोकेर नाच्दै गाउँदै शहर तथा गाउँ पस्न थाल्छन्।

फाइल तस्बिर।
प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन्।
दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरुको नाच प्रमुख आकर्षण हुने गरेको छ। सन्थाल नाच नभएको दसैँ मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन्।
तर यो वर्ष सब सुनसान छ। कोरोना महामारीका कारण सन्थाल समुदायका मानिसहरू सबै घरभित्र छन्।

फाइल तस्बिर।
नवरात्र अर्थात् दसैँ शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दसैँ मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवासी सन्थालहरु।
सन्थाल समुदायको परम्परागत भेषभूषा, बाजा र नृत्य झापा र मोरङमा लाग्ने दसैँ मेला बजारहरुका मुख्य आकर्षण हुन्।
सन्थाल समुदायमा दुर्गा तथा कालीलाई ईष्ट देवताका रुपमा पूजा गर्ने हुनाले पनि देवीको भक्तिगान गाउने पर्व दसैँ यस समुदायका लागि विशेष हुने गर्दछ।

फाइल तस्बिर।