
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवातको क्रम अझै टुट्न सकेको छैन । समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको छ ।
समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो । दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा भने आउन सक्यो ।
घरेलु टोली बोरुसियाका लागि ३३ र ५८ औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७ औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा कासेमिरोले गोल गरेका हुन् ।
बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् ।
बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिया समूहको शीर्ष स्थानमा छ । सोही समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन् ।