
सिमकोट– कोरोना कहरले बन्द रहेका सिमकोट गाउँपालिका सबै विद्यालयमा कार्त्तिक १९ गतेबाट पठनपाठन सुरु हुने भएको छ।
जिल्लाका अन्य गाउँपालिकामा पठनपाठन सुरु भएपछि शुक्रबार गाउँपालिकाको समन्वयमा बसेको शिक्षा क्षेत्रसँग सम्बन्धित निकायहरुको बैठकले पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।
गाउँपालिका भित्रका शिक्षा क्षेत्रका सरोकारवाला पक्षको बैठकले १९ गतेबाट पढाइ सुरुगर्ने सिफारिस शिक्षा समितिलाई गरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए।
आइतबार गाउँपालिकाको शिक्षा समितिको बैठक बसेर यस सम्बन्धी निर्णय गरेर विद्यालयमा पठनपाठन सुरु हुने उनले बताए। जिल्ला बाहिर रहेका शिक्षकलाई पीसीआर अनिवार्य गरेर जिल्ला प्रवेश गर्नुपर्ने, विद्यालयमा आइसकेपछि एक हप्ता अनिवार्य होम क्वारेन्टिनमा बस्नु पर्नेछ। विद्यालयमा पनि सुरक्षा सावधानी अपनाएर पठनपाठन हुनेछ।
गत चैत्र ११ गतेबाट पठनपाठन बन्द रहेका सिमकोट गाउँपालिकाका विद्यालयहरु साउन २२ गतेबाट गाउँपालिकाको निर्णयका आधारमा एक हप्ता सञ्चालन भएर पुनः बन्द भएका थिए। यतिबेला ‘सिफ्ट’ मिलाएर पठनपाठन सुरु भएको थियो। सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ वटा विद्यालय रहेका छन्।
यसअघि बुधवारबाट नाम्खाका विद्यालयमा पठनपाठन सुरु भएको छ भने ताँजाकोट गाउँपालिकामा १६ गतेबाट विद्यालय सञ्चालन हुँदैछन्।
सामान्य अवस्थामा मंसिर महिनामा हुम्ला जिल्लामा वार्षीक परीक्षा हुनुपर्ने हो तर अब पठनपाठन नै नभएको कारण चैत्र महिनामा वार्षीक परीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ।
यसअघि हुम्ला लगायत केही हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र फागुन २ गतेबाट हुन्थ्यो।