
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुबीच देखिएको मतभिन्नताको छिनोफानो गर्न केन्द्रीय सचिवालय बैठकको आवश्यकता पर्ने भन्दै उक्त बैठक बोलाउन दबाब दिएका छन्।
प्रचण्डले विषयवस्तु गम्भीर भएकाले अब सबै साथीहरुकाबीच नै आफूहरुले छलफल गर्न उपयुक्त हुने भन्दै केन्द्रीय सचिवालय बैठक तुरुन्त बोलाउन ओलीलाई दबाब दिएका हुन्।
तर ओलीले प्रचण्डको माग अनुसार केन्द्रीय सचिवालय बैठकको मिती तय गर्न नसकेको र उनीहरुबीचको छलफलमा उठेका अन्य विषयमा पनि ठोष निष्कर्ष निस्कन नसकेको पार्टी स्रोतले बतायो।
स्रोतका अनुसार ११ दिनपछि ओलीसँग प्रत्यक्ष संवाद गरेका प्रचण्डले सुरुमै नेकपा कर्णाली प्रदेशमा उत्पन्न विवाद समाधानको साटो बल्झाउनेतर्फ जाँदा बाहिर नकारात्मक सन्देश गएको भन्दै ओलीसमक्ष आफ्नो गुनासो प्रस्तुत गरेका थिए।
प्रचण्ड निकट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध ओलीका ८, माधवकुमार नेपालका ७ जना र प्रचण्ड निकट ३ जना गरी १८ जनाले गत असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए।
तर प्रचण्ड-नेपाल समूहको पहलमा शाहीबिरुद्धको अविश्वासको प्रस्ताव ‘फेल’ भएपनि ओली पक्षले ओलीले प्रचण्डको हस्ताक्षरबिना दिएको निर्देशन अनुसार नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहको पद फिर्ता नगरेको भन्दै असन्तुष्ट कायमै राखेको छ।
शनिबारको भेटमा प्रचण्डले कुटनीतिक मर्यादाबिपरित भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र ओलीको भेटबारपनि ओलीसमक्ष कुरा राखेको बुझिएको छ।
यस्तै प्रचण्डले राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, पर्सा घटना, कोरोना महामारीलगायत विषयमा पनि आफ्ना कुरा ओलीसमक्ष राखेको पार्टी स्रोत बताउँछ।
तर यी सबै मामिलामा अब आफूहरु एक्लाएक्लै भन्दा पनि सचीवाय बैठकमै छलफल गर्नुपर्ने भन्दै प्रचण्डले गरेको मागबारे ओलीले स्पष्ट जबाफ दिन नसकेको बुझिएको छ।
पछिल्लो स्थायी कमिटी बैठकको निर्णय उल्लंघनमा फेरि अघि देखिएका ओली र प्रचण्डको गत कार्तिक ४ गतेदेखि प्रत्यक्ष संवाद हुन सकेको थिएन।
छलफलका लागि ओलीले फोनमार्फत बालुवाटार आउन गरेको आग्रह प्रचण्डले पार्टी निर्णय उल्लंघन गर्ने अनि छलफल मात्रै गर्नुको के अर्थ रहन्छ भन्दै अस्वीकार गर्दै आएका थिए।
तर बुधबारदेखि ओलीले आफूसँग कायम संवादहिनता तोड्न आफ्ना विश्वासपात्रहरुलाई प्रचण्ड निवास खुमलटार पठाउन थालेका थिए।
तर दुई अध्यक्ष मिल्नु पर्ने पार्र्टी पंक्तिबाट दबाब पनि बढेकाले शनिबार छलफलका लागि ओलीले गरेको आग्रह प्रचण्डले स्वीकार गर्दै बालुवाटार पुगेका थिए।
उनीहरुबीच शनिबार सवा एक बजेदेखि साढे दुई बजेसम्म छलफल भएको थियो।
यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका लागि ओली र दाहाल दुबै अध्यक्षसँग लिखित माग गरेका छन्।