
चेल्सीले यो सिजन अहिलेसम्म जित बिहीन रहेको बर्नलीलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा भ्रमण टोली चेल्सीले बर्नलीमाथि ३–० को जित दर्ता गरेको हो ।
ट्यामी अब्राहमको सहयोगमा २६ औँ मिनेटमा हकिम जियचले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । म्यासन माउन्टको सहयोगमा कुर्त जोउमाले ६३ औँ मिनेटमा अग्रता दोब्बर पारे ।
यस्तै हकिमको सहयोगमा ७० औँ मिनेटमा टिमो वेर्नरले गोल गरेपछि चेल्सी विजयी भयो । जितपछि चौथो स्थानमा पुगेको चेल्सीको सात खेलबाट १२ अंक भएको छ ।
अहिलेसम्म एक खेलमा मात्रै बराबरी गर्न सकेको जित बिहीन बर्नली एक अंकसहित पुछारमा छ।