
फ्रान्सको लियोन शहरमा चर्चमा आक्रमण हुँदा पादरी गम्भीर घाइते भएका छन्। बन्दुकधारीको आक्रमणबाट ग्रीक अर्थोडक्स पादरी गम्भीर घाइते भएको र उनी जीवनसँग संघर्ष गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणमा संलग्न भएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । निकोलाओस काकाभेलाकिस नाम गरेको पादरीको पेटमा स्थानीय समय अनुसार शनिबार अपराहन्न चार बजे दुई राउण्ड गोली प्रहार भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणकारीलाई प्रहरीले सोही शहरको कबाब पसलबाट बेलुका सात बजेपछि पक्राउ गरेको हो । अहिलेसम्म सो आक्रमणलाई आतंकवादी आक्रमणका रुपमा परिभाषित गरिएको छैन ।
लियोनमा भएको आक्रमणको तीन दिन पहिले फ्रान्सकै निस शहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी तीनजनाको हत्या गरेका थिए । यस्तै दुई हप्ता पहिले पेरिसको उत्तर पश्चिममा रहेको विद्यालयका शिक्षक सामुएल पाटीको टाउको काटेर हत्या भएको थियो ।