
मोरङ-धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवकको मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार सोमबार साँझ ५ बजेर ४० मिनेटमा उपचारका क्रममा ३० वर्षीय युवकको मृत्यु भएको हो।
प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सप्तरी महादेवा ६ स्थायी घरमा भएका युवकको मंगलबार नै पिसिआर रिपोर्ट पोजिटिभ आएको हो।
यसलगत्तै उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
दीर्घ रोगबारे जानकारी नभएको बताएका सहप्रवक्ता श्रेष्ठका अनुसार विरामी युवक पछिल्लोसमय धरान १८ मा बसोबास गर्दै आएका थिए।
यससंगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।