
मोरङ-गएको १२ घण्टामा मोरंगका विभिन्न कोभिड १९ अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको छ।
मोरंग बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा ३, न्यूरो अस्पताल विराटनगरमा २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो। यसक्रममा न्यूरो अस्पतालमा धरान १५ का ६३ वर्षीय गजेन्द्र इस्वोको उपचारका क्रममा मंगलबार अपरान्ह ३ बजेर ३० मिनेटमा मृत्यु भएको छ।
अस्पतालको कोभिड १९ फोकलपर्सन सुरेश अचार्यका अनुसार असोज १७ कोरोना पुष्टि भएका पुरुषलाई यसअघि धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । किराँत याक्थुम चुम्लुंगका सचिवसमेत रहेको इश्वोलाई निमोनियाले थप समस्यामा पारेको थियो ।
क्यान्सरबाट समेत पीडित उनी नियमित रुपमा किमोथेरापी गर्दै आएको अस्पतालले जनाएको छ । यसक्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि प्रतिष्ठानबाट कार्तिक १२ गते विरामी पुरुषलाई विराटनगर न्यूरोमा भर्ना गरिएको थियो। इश्वो जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष हुन् । उनी धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा मेयरको प्रतिस्पर्धी रहेका थिए।
त्यसैगरि, न्युरोमै उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको आचार्यले जानकारी दिए। कार्तिक १४ कोरोना पुष्टि भएका पुरुषको विहान ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो।
मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ३ जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जना सिरहा सुखीपुरका ७४ वर्षीय पुरुष छन् । कोरोना पुष्टि भएसंगै कात्तिक १५ गते अस्पताल भर्ना गरिएका उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए।
सोही अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको देवले बताए। उपचारकै क्रममा सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको हो।
त्यसैगरि, धरान उपमहानगरपालिका १६ का ७६ वर्षीय पुरुषको पनि मंगलबार विहान विराटमै मृत्यु भएको छ । कोरोना पोजिटिभसंगै कार्तिक ९ गते अस्पतालमा भर्ना गरिएको पुरुषको विहान साढे ६ बजे मृत्यु भएको हो।
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको समेत उपचारका क्रममा मृत्यु भएको छ । कार्तिक १२ गते केन्द्रमा भर्ना गरिएका उनको सोमबार राती १२ बजे मृत्यु भएको केन्द्रका ब्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।