
जनकपुरधाम-कोरोना संक्रमणबाट प्रदेश २ मा थप ४ जनाको मृत्यु भएको छ । यस सँगै मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए ।
आज पर्साको धोबिनी गाउँपालिका वडा नं. ४ का ५० वर्षीय पुरुष, वीरगंज महानगरपालिका वडा नं. ५ रेशमकोठी घर भएका ७६ वर्षीय पुरुष, सप्तरीको कृष्णसावरन गाउँपालिका वडा नं. ५ का ६२ वर्षीय पुरुष र हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए ।
कोरोना संक्रमणबाट हालसम्म सबैभन्दा बढी पर्सामा ५० जनाको मृत्यु भएको छ । त्यस्तै सप्तरीमा २७, धनुषामा १९, बारामा १९, सिरहामा १८, महोत्तरीमा १७, सर्लाहीमा १३, रौतहटमा १० र १ भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा धनुषामा १८, सिरहामा ९, सप्तरीमा ९, महोत्तरीमा ६, रौतहटमा ४, बारामा ४, पर्सामा ४, सर्लाहीमा २ र अन्य प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यस सँगै निको हुनेको संख्या १४ हजार ४ सय १६ पुगेको छ ।