
लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । समूह डीमा रहेको लिभरपुलले मंगलबार राति भएको खेलमा एट्लान्टालाई ५–० ले पराजित गरेको छ ।
एट्लान्टालाई उसकै मैदानमा पराजित गर्ने क्रममा लिभरपुलका लागि डिओगो जोटाले ह्याट्रिक गरे । यस्तै मोहम्मद सालह र साडिओ मानेले गोल गरे । जोटाले १६, ३३ र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।
सालहले ४७ औँ तथा मानेले ४९ ओँ मिनेटमा गोल गरेका हुन् । जितपछि तीन खेलबाट ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा छ । लिभरपुलले च्याम्पियन्स लिगको यो सिजनमा अहिलेसम्म एक गोल पनि खाएको छैन ।
सोही समूह अन्तर्गत मंगलबार राति भएको खेलमा अजाक्सले एफसी मिडट्जील्याण्डलाई २–१ ले पराजित गरेको छ । अजाक्स चार अंकसहित दोस्रो स्थानमा छ । समान चार अंक भएको एट्लान्टा तेस्रो स्थानमा छ ।