
नेपालगञ्ज–बाँकेका कोरोनाका ३० जना सिकिस्त बिरामी रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा अहिले एक सय एक जना कोरोना संक्रमित रहदा ३० जना सिकिस्त रहेकोे जानकारी दिए ।
लक्षण चिन्ह देखिएका बिरामीलाई तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको छ । जसलाई सामान्य, मध्यम र सिकिस्त भनिन्छ।
जिल्लामा रहेका ३० जना सिकिस्त बिरामीमध्ये १८ जना भेरी र १२ जना कोहलपुर मेडिकल कलेजमा उपचारत छन्। मध्यम खालका बिरामी ५० जना रहेका छन्, भेरीमा ३६ र कोहलपुरमा १४ जना। यी दुई अस्पतालमा २१ जना सामान्य बिरामी छन् । भेरीमा ९ र कोहलपुरमा १२ जना ।
जिल्लाका विभिन्न पालिकाहरुमा एक सय ९१ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
फोकलपर्सन श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ९३ जना, कोहलपुर नगरपालिकामा ४१ जना, खजुरा गाउँपालिकामा १० जना, बैजनाथ गाउँपालिकामा १४ जना, जानकी गाउँपालिकामा १७ जना र राप्तीसोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेका छन्।
डुडुवा र नरैनापुर गाउँपालिकामा कोही पनि होम आइसोलेसनमा रहेका छैनन् ।