
मोरङ– कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा मोरङका दुई र सिरहाका एकजना गरी तीन जनाको विराटनगरमा मृत्यु भएको छ।
मोरङको जहँदा गाउँपालिकाका १, विराटनगर महानगरपालिकाका १ र प्रदेश २ सिरहाका १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
मोरङको जहँदा गाउँपालिका ३ का स्थानीय ५५ वर्षीय पुरुषको बिहीबार विहान ८ बजे विराटनगरको म्याक्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै कार्तिक १७ गते विरामीलाई अस्पतालमा भर्ना गरिएको थियो। उनमा मृगौला सम्बन्धी र मधुमेहको समस्या रहेको मेहताले जानकारी दिए।
त्यसैगरि विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सिरहा विष्णुपुर–१ का ८४ वर्षीय बृद्धको बिहीबार विहान ३ बजे मृत्यु भएको छ। अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार ती बृद्धलाई श्वासप्रश्वासको समस्याका कारण भदौ १७ गते अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन स्वाब नमूना संकलन गरी पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको दाहालले जानकारी दिए।
त्यसैगरि विराटनगर महानगरपालिका ८ का ७० वर्षीय बृद्धको उपचारका क्रममा आफ्नै घरमा मृत्यु भएको छ। महानगरपालिकाका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार विरामीमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि विरामीको बुधबार राति करिब ९ बजे मृत्यु भएको पौडेलले जानकारी दिए।