
मोरङ– प्रदेश १ मा थप ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेशका विभिन्न स्थानमा १ हजार ४ सय ६३ जनाको पीसीआर परिक्षण गरिएको थियो, जसमा १ सय ५९ महिला र २ सय ४२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार मोरङमा १ सय ३४, झापामा १ सय १८, सुनसरीमा १ सय २, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको हो।
प्रदेश राजधानी विराटनगर महानगरपालिकामा २२ महिला र ४० पुरुष गरी ६२ जनामा संक्रमण देखिएको छ। त्यसैगरि मोरङको उर्लाबारी नगरपालिकामा १६, सुन्दरहरैंचा नगरपालिकामा १५, पथरीशनिश्चरे नगरपालिकामा ९, बेलबारी नगरपालिकामा ८, रतुवामाई नगरपालिकामा ६, रंगेली नगरपालिकामा ५, लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा समान ३, कटहरी गाउँपालिकामा २, सुनवर्षी नगरपालिकासँगै बुढीगंगा, धनपाल, मिक्लाजुङ, र ग्रामथान गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
झापाको दमक नगरपालिकामा ४८, विर्तामोड नगरपालिकामा २९, कमल गाउँपालिकामा ९, गौरादह नगरपालिकामा ७, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र हल्दिबारी गाउँपालिकामा समान ५, शिवसताक्षी र भद्रपुर नगरपालिकामा समान ३, कनकाई र मेचीनगर नगरपालिकामा समान २ जनाको रिपोर्ट पोजिटिभ मन्त्रालयले जनाएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा ४८, इटहरी उपमहानगरपालिकामा २९, बराहक्षेत्र र इनरुवा नगरपालिकामा समान ६, रामधुनी नगरपालिका र बर्जु गाउँपालिकामा समान ५, दुहवी नगरपालिकामा २ र भोक्राहानरसिंह गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरि पहाडी क्षेत्रतर्फ, उदयपुरको त्रियुगा नगरपालिकामा १४, उदयपुरगढी गाउँपालिकामा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढी गाउँपालिकामा १, इलामको चुलाचुली गाउँपालिकामा २ र देउमाई नगरपालिकामा १,संखुवासभाको धर्मदेवी र मादी नगरपालिकामा समान १, तेह्रथुमको म्याङलुङ नगरपालिकामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ। यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २० हजार ८ सय २ पुगेको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशमा ५ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशको विभिन्न स्थानका होम आइसोलेसनमा ५ सय ६३, मोरङको बेलबारी नगरपालिका आइसोलेसन केन्द्रबाट १३, इलामस्थित जिल्ला अस्पताल इलामबाट ५, संखुवासभाको जिल्ला अस्पतालमा ४, मोरङको बुढी गंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल, विराटनगरको बैजनाथपुर आइसोलेसन, सुनसरी हरिनगरस्थित वि.जेनरल अस्पताल, झापाको धाईजन आइसोलेसन केन्द्र र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समान २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ९५ पुगेको छ।