
जनकपुरधाम– प्रदेश २ मा ३७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै प्रदेशभर संक्रमितको संख्या १६ हजार नाघेको छ।
शनिबार गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १४ महिलासहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १६ हजार २९ पुगेको छ।
शनिबार बारामा १९, धनुषामा ४, सिरहामा ४, पर्सामा ४, सर्लाहीमा ३, महोत्तरीमा १, रौतहटमा १ र अन्य प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।
यस्तै शनिबार ६२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १४ हजार ७ सय २० पुगेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. यादवले बताए। आज सिरहामा ३२, सप्तरीमा २५, धनुषामा ३ र पर्सामा २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल यस प्रदेशमा १ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा होम आइसोलेसनमा १ हजार ५४ जना र आइसोलेशनमा ७५ जना रहेका छन्। प्रदेशभर हालसम्म १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।