
आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई नाभी मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ।
अलिबागस्थित क्वारेन्टिनका रुपमा राखिएको ठाउँमा आफूलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको गोस्वामीले बताएका थिए। उनी प्रमुख सम्पादक रहेको रिपब्लिक टेलिभिजनमा प्रसारित फुटेजमा अर्नबले आफ्नो ज्यान जोखिममा रहेको बताएका छन्।
‘मेरा कानुन व्यवसायीसँग बोल्न मलाई दिइएको छैन। मेरो ज्यान जोखिममा छ। आज बिहान मलाई ठेलिएको र आक्रमण भएको छ। बिहान ६ बजे उनीहरुले मलाई उठाए र कुनै कानुन व्यवसायीसँग बोल्न नदिने बताए। कृपया भारतीय जनतालाई भन्दिनुस् कि मेरो ज्यान खतरामा छ। अदालतलाई सहयोग गर्न भन्दिनुस्। अदालतलाई भन्दिनुस् कि जेलमा मलाई पिटिएको छ’, गोस्वामीले बोलिएको भिडियोमा उनले भनेका छन्।
सन् २०१८ को मेमा आत्महत्या गरेका इन्टेरियर डिजाइनर अन्भय नाइक र उनकी आमा कुमुद नाइकको प्रकरणमा अर्नब पक्राउ परेका हुन्। गोस्वामी मालिक रहेको टेलिभिजन र अन्य दुई कम्पनीले भुक्तानी नदिएका कारण अन्भय र उनकी आमाले आत्महत्या गरेको प्रहरीको दावी छ।