
काठमाडौँ– बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबारदेखि मैदानमा अभ्यास शुरु गरेको छ। काठमाडौँबाट बिहीबार ढाका पुगेको नेपाली टिमले आजदेखि अभ्यास शुरु गरेको हो।
नेपाली फुटबल टिम बंगलादेशको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि ढाका पुगेको हो। नेपाली फुटबल टिम कोभिड १९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटल क्वारेन्टिनमा बसेको थियो।
क्वारेन्टिनमा रहेकै बेला पनि होटलको छतमा दुई दिनसम्म सामान्य अभ्यास गरेको टीमको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मैदानमै अभ्यास गर्न अनुमति पाएको हो। यससँगै शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिन २ घण्टा भन्दा बढी अभ्यास गरेको छ।
ढाका पुगेपछि पहिलो पटक मैदानमा अभ्यास गराउन पाएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिए पनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।
यस्तै कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकोले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताए। उनले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताए।
नेपाली फुटबल टिमले कात्तिक २८ गते र मंसिर २ गते बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ।