
काठमाडौँ– दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उदेश्यले सोमबार त्यहाँस्थित व्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएको छ।
दिपावाली नजिकै जाँदा तिहारमा पकाइने मुख्य परिकार मध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन व्यवसायीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए।
ललितपुर सातदोबाटोस्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डको संयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका एक दर्जनभन्दा बढी संघ सस्थाको संयुक्त आयोजनामा सेलरोटीको स्वादः टेस्ट अफ नेप्लिज फुड–द नेक्स्ट डेस्टिनेसन (सिरिज) अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न भएको हो।
नेपाली मौलिक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलिकता तथा बजार प्रवर्द्धन गर्ने उदेश्यले कर्मा मिडियाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगितामा सहभागी व्यवसायीलाई तीन समुहमा विभाजन गरी सेफहरुको तीनवटा निर्णायक मण्डलीले तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट तीन व्यवसायीको छनौट गरेका थिए।
प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक सारदा तामाङ्ग दित्तिय र बालकृष्ण श्रेष्ठले तृतिय स्थान हासिल गर्न सफल भए। उनीहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमशः नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्रले सम्मानित गरे।
समापन कार्यक्रममा बोल्दै मेयर बस्नेतले दक्षिणकाली क्षेत्रको पहिचान अब सेलरोटीले चिनाउने विश्वास व्यक्त गरे। नगरपालिकाले देशका उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धन र उद्योगमा लगानी गर्न विशेष नीति लिएको जानकारी दिए।
होटल एसोसिएसन अफ नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले कोभिडका कारण पर्यटन वर्ष नै स्थगित गर्नुपरेको अवस्थामा यस किसिमका कार्यक्रमले व्यवसायीमा हौसला बढ्ने र गुणस्तर बढ्दै जाँदा त्यसको खपत पनि बढ्ने बताए।
विश्वमा हरेक देशले आफ्नो राष्ट्रिय ध्वजाबाहकमा आफ्नै मौलिक खाना, मेनुमा समावेश गर्ने गरेको स्मरण गर्दै नेपाल एयरलाइन्सले सेलरोटी जस्तो मौलिक र नेपालको चिनारी बोकेको खानालाई समेट्न सके बजारीकरण बढ्ने धारणा व्यक्त गरे।
नेपालका पहिलो एक्जुकेटिभ सेफ गोविन्द नरसिंह केसीले सेलरोटीको स्वादमार्फत मौलिक खानाको विश्व बजारीकरणमा जुटेका सबैलाई एउटै शुत्रमा बाँधेको बताए।
कार्यक्रम मूल आयोजक कमिटीका संयोजक एवं आइएचएम कलेजका निर्देशक सुराच प्रसाईले नेपाली मौलिक खानाको प्रवर्द्धनमा यस किसिमको बृहत सहभागिताले खानाको मौलिकतामा एकता, सहकार्य र सम्मानको नयाँ अध्याय सुरु गरेको उल्लेख गरे।
कार्यक्रममा कोभिडबाट भोकभोकै परेका अति विपन्न र असहायहरुलाई खाना खुवाउने अभियानमा सक्रिय सेफ टेकनाथ नेपाल र सेफ शिवहरी घिमिरे तथा मौलिक खानाको प्रचार र होम स्टे व्यवस्थापनमा विशेष योगदान पुर्याएबापत सेफ मोहन गजुरेललाई सम्मान गरिएको थियो।
नेपाल सेफ एसोसिएसन (क्यान),रेस्टुरेन्ट एसोसिएसन अफ नेपाल (रेबान), ग्लोबल सेफ फेडेरेसन लगायत संस्थाले पनि कार्यक्रमलाई साथ दिएका थिए।