
जनकपुरधाम– महोत्तरीमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन्। महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. १ का राजकरण यादवलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।
यादवलाई सोमबार पक्राउ गरिएकोमा महोत्तरी जिल्ला अदालतमा पेश गरी कोरोना परीक्षणको लागि जिल्ला प्रहरी कार्यालयमा राखेको उनले बताए।
२०६६ साल पुस १८ गते तत्कालिन बगडा गा.वि.स. वडा नं. १ (हाल लोहारपट्टी १) मा आफ्नो घरबाट ५ सय मिटर टाढा रहेको धानको खलिहानमा सुतिरहेको अवस्थामा १४/१५ जना स्थानीय व्यक्तिहरुको समूहले राम अशिष यादवमाथि धरिलो हतियारले टाउको सहित शरीरको विभिन्न अंगमा प्रहार गर्दा गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित अस्पतालमा २०६६ साल माघ १३ गते मृत्यु भएको थियो। राजकरणलाई कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहरी जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय भएको थियो। उनी फरार रहँदै आएका थिए।
यस्तै बिगो मुद्दामा जिल्ला अदालत धनुषाबाट १ वर्ष कैद सजाय भएका महोत्तरीको भंगहा नगरपालिका वडा नं. ८ धरमपुरका ध्रुब राउतलाई आफ्नै घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बिष्टले जानकारी दिए।
पक्राउ परेको राउतलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको महोत्तरी प्रहरीले जनाएको छ।