
सिमकोट – कोरोना संक्रमित भेटिएपछि नाम्खा गाउँपालिकाको महाबौद्ध मा वि याल्वाङ र छात्राबास सिल गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि कात्तिक २८ गतेबाट ३० गतेसम्मका लागि विद्यालय र छात्रावास सिल गरिएको हो ।
कोरोना भाइरस लक्षण भएको आशंकामा स्वाव परिक्षण गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय र छात्रावास सिल गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले बताए । उनले संक्रमित ट्रेसिङ गर्न र अन्य मानिसमा नफैलियोस भन्नका लागि विद्यालय र छात्रावास सिल गरिएको बताए ।
सिल गरिएको क्षेत्रमा आवश्यकता परे सुरक्षाकर्मी मात्र प्रवेश गर्न पाउने छन्। संक्रमित भेटिएको रिपोर्ट सार्वजनिक हुने बित्तिकै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नाम्खा गाउँपालिका कोभिड १९ को वारेमा समिक्षा गरिएको थियो । सो समिक्षा बैठकले सिल गर्ने निर्णय गरेको हो ।
संक्रमित चार जना मध्य तीन जना महिना र एक जना पुरुष रहेका छन् । नाम्खा गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हो । जिल्लामा पहिलो पटक असोज तीन गते एक जना युवतीमा कोरोना संक्रमण देखिएको थियो । गत कात्तिक १८ गते हुम्ला जिल्ला कोरोना मुक्त जिल्ला भएको थियो ।