
काठमाडौँ – मानवको भरपर्दो साथीका रुपमा लिने गरिएको कुकुरको विशेष पूजा गरि शनिबार कुकुर तिहार मनाईँदै छ।
घरमा पालिएका तथा सडकमा खुला रुपमा रहेका कुकुरहरुलाई यो दिन विशेष रुपमा पूजा गर्ने गरिन्छ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण धेरै ठाउँमा औपचारिक रुपमा कुकुरको विशेष पूजा कार्यक्रम भएनन्। तर ललितपुरको भैँसेपाटी भञ्ज्याङ्गस्थित स्नेहा केयरमा शनिबार बिहानैदेखि विशेष पूजा गरिएको छ त्यहाँ रहेका कुकुरहरुको।
विगत ६ वर्षदेखि स्नेहा श्रेष्ठको पहलमा सुरु भएको छाडा तथा सडकमा दुःख पाएका कुकुर तथा चौपायाहरुको रेखदेख तथा स्याहार गर्ने संस्था स्नेहा केयरले सेल्टरमा रहेका कुकुरहरुको विशेष पूजा गरेको हो ।
अहिले सेल्टरमा १६० वटा कुकुर छन् । सञ्चालक स्नेहा श्रेष्ठले भनिन्, ‘सेल्टरमा रहेका कुकुरको पूजा सकेपछि हामी आज दिनभर सडकमा रहेका कुकुरहरुको पूजाका लागि जान्छौँ।’
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले स्नेहा केयरमा रहेका कुकुरको विशेष पूजाका केही तस्बिरहरु खिचेकी छन्।