
कोरोना संक्रमण भई निको भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन एक सांसदलाई संक्रमण पुष्टि भएपछि फेरि सेल्फ क्वारेन्टिनमा बसेका छन्। जोन्सनले आफूमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन्।
कोरोना संक्रमण देखिएका लि एन्डर्सनसँग बिहीबार मात्र जोन्सनले करिब ३५ मिनेट बिताएका थिए। जोन्सन कम्तिमा ११ दिन सेल्फ क्वारेन्टिनमा बस्ने बेलायती सन्चारम माध्यमले जनाएका छन्।
बेलायती प्रधानमन्त्री जोन्सन कोरोना भाइरसको विश्वव्यापी महामारीको सुरुवाति चरणमै संक्रमित भएका थिए।
संक्रमण गम्भीर देखिएपछि उनलाई इन्टेनसिभ केयर युनिट-आईसीयूमा राखेर उपचार गर्नु परेको थियो। जोन्सनले सेल्फ क्वारेन्टिनमै रहेर सरकारका कामकारबाही सम्पादन गर्ने जनाइएको छ।
क्वारेन्टिनमा जानुअघि जोन्सनले कोरोना भाइरसको महामारीबीच जनजीवन सामान्य बनाउने विषयमा महत्वपूर्ण घोषणा गर्ने तयारी गरेका थिए।