
प्रकृतिसित मानव सभ्यताको प्रतिबिम्प ऋतुहरूको परिवर्तनसँगै आउने हाम्रा चाडबाडहरूमा स्पष्ट हुन्छ । शरद ऋतुको आगमनसँगै मुलुकमा विशेष पर्वको याम सुरु हुन्छ । नेपालमा मनाइने विभिन्न चाडपर्व, जात्रा एवं उत्सवहरूमा विभिन्न पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र लौकिक मान्यता, किंवदन्ती, परम्परा, ऋतु, कृषि, प्रकृति सँग निकट भएको पाइन्छ ।
ऋतुहरूमा शरद ऋतुको विशेष महत्व भएको कुरा ‘जीवेम शरदः शतम’ भनी सयौँ शरदसम्म बाँच्ने चाहना गरिनुले पनि झल्किन्छ । देशकै ठूलो चाड दसैँ मनाएसँगै हाम्रो घर आँगनमा अहिले तिहार, छ म्हः पूजा अनि, छठ पूजा पनि आएको छ । तिहार पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको हो । यसलाई दीपावली (दिवाली) नामले पनि जानिन्छ ।
तिहारलाई ऋतु परिवर्तनको सूचक पर्वको रुपमा पनि हेर्न सकिन्छ । तिहार उज्यालोको उत्सव जसले मनमा प्रफुल्ताको झिलिमिली गरी व्यक्तिहरुमा सकारात्मक मनोभावना विकास गराउने पर्व हो । प्रकृतिमा फूलको झिलिमली, मान्छेले बालेको दियोको झिलिमिली अनि घर आँगन र चोक सिँगारेर घरघरमा मनका पीडा, दुःख भुलेर यो मनको कुरा त्यो मनले बुझ्ने आफन्तजनको साथमा भावना साटासाट गर्दै मनाइँदै आएको सांस्कृतिक मौलिकता बोकेको पर्व नै तिहार हो । तिहारमा घर सजाउन विभिन्न किसिमका बत्तीहरू बालिन्छ ।
तिहार पर्व हाम्रो महान सांस्कृतिक पर्व हो । यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्व देखिएका छन् त्योभन्दा पनि बढि वैज्ञानिक महत्व देखा पर्दछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ ।
पौराणिक कथा
पाँच दिनसम्म मनाइने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरुको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरि बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् ।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । यही समयदेखि भाइटीकाको सुरुआत गरिएको र यिनै कथाका आधारमा तिहारलाई ‘यमपञ्चक’ भनिएको मानिन्छ ।
पौराणिक कथन अनुसार, दानवराज बलिको दानशीलताबाट प्रसन्न भएर भगवान् विष्णुले बलीलाई सुतल नामक लोकको राजा बनाए । यी पाँच दिन बलीको राज्यलाई मान्छे र देवताका राज्यभन्दा विशेष देखाउन यो अवधिभर घर, गोठ, मन्दिर, मुख्य बाटाघाटामा दीपावली गर्नुपर्ने र यो कार्यले लक्ष्मी खुशी भएर दीपावलीको उत्सव मनाउने घरमा बस्नुपर्ने, यमराज पनि खुशी हुने वर पनि पाए । यही समयदेखि प्रतिवर्ष तिहारका यी पाँच दिन दीपावली र लक्ष्मीपूजाको प्रथा चलेको मानिन्छ । त्यो अवधिमा यमराजलगायत इन्द्रादि देवताले बलीलाई राज्य छोड्नुपर्ने हुँदा यमराज ती दिन बहिनी यमुनाकहाँ व्यतीत गर्न गए ।
देउसी भैली र मानसिक सुस्वास्थ्यः
तिहारमा देउसी भैली खेल्ने गरिन्छ । परम्पराअनुसार कुमारी कन्याले भैली गीत गाउँदै घरघरमा गएर खेलिने खेल भैली हो । त्यसैगरी गोवर्द्धन पूजाका दिन कुमार केटाहरूले खेल्ने खेललाई देउसी भनिन्छ । हिजोआज महिला पुरुष दुवै देउसी भैली खेल्न हिँडेको पाइन्छ ।
संस्कृति जोगाउन र तिहारमा मनोरञ्जन गर्न खेलिने देउसीभैलो गीत गाउँदै घर घरमा जाने र नाच्ने गरिन्छ र घरबेटीले आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरि तिहार मनाउने गरिन्छ । लक्ष्मीको पूजा पछि झ्याल ढोकामा माटाका पाला, मैनबत्ती रंगीविरंगीका बिजुलीका चिमले दिपमालिका सजाइन्छ, यो दिन लक्ष्मीको लागि नैवेद्य सेल, बाबर पकाइन्छ, त्यसकारण यस चाडलाई केटाकेटीहरू सेल खाने चाड पनि भन्दछन् । यस पर्वको पछाडि पौराणिक किंवदन्ती अनुसार यस रात लक्ष्मी स्वर्गबाट धर्तीमा झरी प्रकाशले उज्यालो भएको ठाउँमा पुग्छिन् किनकी धनकी देवीलाई फोहोर मन पर्दैन यसैले सबैतिर सफा र उज्यालो पारिन्छ ।यसै दिन साँझ महिलाहरुले भैलो खेल्ने चलन पनि छ ।
तिहारका गीतहरुमा पनि सम्बन्धको प्रगाढता देखिन्छ । जस्तै एउटा नेपाली गीतको शब्दहरु “निधारमा लर्काएर सप्तरंगी टीका, हिँडिरहु सधैँ तिमी शिखरको बाटो…..सयपत्रीसँगै मेरो खुशी फुलेको छ …”
सामाजिक संस्कारमा गाउँघरका तिहारमा रोटेपिङ र लिङ्गेपिङमा रमाएको हुन्छ । बिदामा सम्पूर्ण मानसिक तनाव पिर, चिन्ता, र पीडा बिर्सेर रमाउने, हाँस्ने र खुशी साथ घरपरिवार र आफन्तसँग रमाउँदै सन्तुष्टि लिने गर्दछन् ।
सांस्कृतिक र मानसिक लचकता वृद्धि गर्न यस पर्वले सहायता गरेको हुन्छ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सामान्य हुन मद्दत गर्ने मनको गुण वा क्षमतालाई मानसिक लचकता भनिन्छ । सांस्कृतिक लचकता भएको व्यक्तिले क्षमता अनुसारको योजना बनाई त्यसलाई पूरा गर्ने दृढता, सकारात्मक सोचका साथ आफ्नो क्षमता र सीपप्रति विश्वस्त हुनसक्ने, प्रभावकारी सञ्चार गर्न सक्ने, जस्तोसुकै समस्या समाधान गर्न सक्ने, विभिन्न विचारका कारण आइरहने उतारचढाव नियन्त्रण गर्न सक्ने, प्रतिकूल अवस्थाबाट बाहिर निस्कनका लागि धैर्यधारण गर्न सक्ने क्षमता हुन्छ ।
तिहारमा पशुबिचको प्रगाढ सम्बन्ध र मानसिक सुस्वास्थ्य एवं मनोचिकित्सा विधिः
तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । नेपालमा तिहार लगायत चाडपर्वले व्यतिको मनोसामाजिक सुस्वास्थ्यमा के–कति र कस्तो असर पार्छन् भन्ने सवालमा गहन अध्ययन भएको जस्तो देखिँदैन । यस सम्बन्धमा मनोवैज्ञानिक तथ्यांकहरू पनि पर्याप्त उपलब्ध छैनन् ।
नेपालमा चाडपर्वमा खुशीयालीका साथै सांस्कृतिक पक्ष पूरा गर्न आयको क्षमता नभए पनि चाडपर्वका बेला जसरी भए पनि उपभोग गरेर चाडपर्व मनाउनुपर्छ भन्ने मान्यताले व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यमा सकारात्मक प्रभाव हाम्रो समाजमा रहेको छ ।
सम्पूर्ण प्राणीसहित प्रकृतिमा सदैव स्नेह, समानता र परस्परको हित–चिन्तनका लागि अभिप्रेरित भएर एकताको सन्देश दिँदै धर्तीको हरेक कुरासँग सहजीवनका लागि प्रयत्नशील रहनुपर्ने सन्देश यो पर्वले बोकेको छ । यो अवसरमा देवी लक्ष्मीको प्रतीक मानी देवी, देवता, मानव, दानव, पशु, पन्छी, प्रकृतिसहित भौतिक पदार्थहरू सुन, चाँदी, रुपैयाँ, पैसा र भाँडाकुँडालाई समेत पूजा गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीको दिनदेखि, चतुर्दशी, औँशी, प्रतिपदा र द्वितीयासम्म पाँच दिनसम्म यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइको पूजा गरिन्छ ।
काग तिहार:
तिहार पर्वको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठो खानेकुरा दिएर काग तिहार मनाईन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।
काकभुशुण्डीजस्ता ज्ञानीको जन्म काग जातिमा भएको थियो । एउटा मात्र आँखाको नानी भएको कागले सबैलाई एउटै दृष्टिले हेर्ने मान्यता छ । त्यसैले काकन्याय प्रसिद्ध छ । कागलाई तान्त्रिक विधिबाट पूजा गरी भोग (खाना) दिनुपर्छ । पूजा सामग्रीमा फूल, अक्षता, अबिर, दाल, भात, तरकारी र फलफूलका साथमा लावा हुनुपर्छ ।
कुकुर तिहार:
यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने चलन रहेको छ । पौराणिक कथनअनुसार कुकुर वैवस्वत कुलमा जन्मेको हो । यसको सम्बन्ध भगवान् सूर्यसँग पनि छ । कुकुरको उत्पत्ति सूर्यको कुलमा भएको मान्यता पनि छ । कुकुर तान्त्रिक देवता भैरवको वाहन भएकाले अभीष्ट सिद्धिका लागि भैरवसँगै यसको पनि पूजा गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।
कुकुरलाई आज्ञापालक एवं रक्षक, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर र डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ ।
गाई तिहार र लक्ष्मी पूजा
यम पञ्चकको तेस्रो दिन कात्तिक कृष्णपक्ष औँशीका दिन लक्ष्मीपूजा र गाई तिहार मनाइन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ । योे दिन बिहान सबैको घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधले छाप लगाई अबीर, केशरी, फूल, अक्षता साथै जनै पूर्णिमामा लगाएका रक्षाबन्धनको डोरो गाइको पुच्छरमा बाँध्ने पनि गरिन्छ ।
वेदमा गाईको विश्वरूपको उल्लेख पाइन्छ । शास्त्रहरूमा गोसेवाबाट लक्ष्मी प्राप्त हुने उल्लेख छ । कात्तिक कृष्ण अमावस्याको रात्री सौभाग्य र सम्पन्नताकी प्रतीक लक्ष्मी धरतीमा झर्छिन् भनी घर–आँगनका कुनाकानी सरसफाइ गरी दियो, बत्ती आदि बालेर चारैतिर उज्यालो बनाई उनलाई आमन्त्रण गरिन्छ । साँझ वैदिक मन्त्र तथा लक्ष्मीस्तोत्रहरू उच्चारण गरी पूजाअर्चना गरिन्छ ।
यस दिन घर, आँगन, चोक, गाईको हरियो गोबरले लिपेर स्वच्छ र चोखो पारिन्छ साथै ढुकुटी र भण्डारसम्म चामलको पिठोको लक्ष्मीको पाइला चिन्ह बनाएर राखिन्छ अनि भण्डार कोठामा पैसा, सुन, चाँदी राखेको ठाउँनेर दियो कलश राखी लक्ष्मीको मूर्ति राखी पूजा गरिन्छ । बली राजाले लक्ष्मीलाई धनधान्यका खातिर अपहरण गरेको र विष्णुले युक्तिपूर्वक छुटाएको, विष्णुले तारकासुर दैत्यको वध गरेको, राम वनवासबाट अयोध्या फर्किएको यही दिन मानिन्छ र दीपावली गरिन्छ ।
गोरु तिहार र गोर्द्धन पूजाः
यमपञ्चकको चौथो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाको गोरु तिहार वा गोर्द्धन पूजा गरि मनाउँछन् । हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोर्द्धन पर्वतको आकृति बनाई पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे ।
गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोर्द्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोर्द्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानी गल्तीको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोर्द्धन पूजाको आरम्भ भएको हो ।
भाइ टीकाः
तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीलाई दान–दक्षिणा एवम् बस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ ।
यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ ।
एनिमल एसिस्टेड थेरापी (एएटी–पशु–सहयोगी थेरापी) मानसिक स्वास्थ्य हेरचाहको दृष्टिकोण हो जसमा पशुहरूलाई मनोचिकित्सा प्रक्रियामा समावेश गरिन्छ । मानव र पशु अन्तरक्रियाको सम्बन्धलाई जोड दिँदै जब एक व्यक्ति (सेवाग्राही) र थेरापीमा समावेश गरेको पशु बिचको सम्बन्ध बढ्छ तव सेवाग्राही मा भावनात्मक पुनःप्राप्ति र सकारात्मक मनोवैज्ञानिक रूपान्तरण सम्भव हुन्छ । बिरामीहरुको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न उपचारको क्रममा कुकुर वा अन्य घरपालुवा जनावर प्रयोग गरी केही तीव्र वा पुराना रोगहरुको उपचार गर्ने विधि हो । मनोचिकित्सा प्रक्रियामा समावेश गर्न सकिने जनावरहरू जसले उपचार क्षमतामा सेवा दिन सक्छन ती घोडा, विरालो, कुकुर, डल्फिन, माछा, चरा, र साना पाल्तु जनावरहरु आदि ।
एनिमल एसिस्टेड थेरापी (एएटी–पशु–सहयोगी थेरापी) कुनै पनि उमेरका व्यक्तिले मनोचिकित्सा सेटिंग्समा पशुहरूसँग अन्तरक्रिया गरेर फाइदा देख्न सक्छन् तर साना बच्चाहरूमा पारस्परिक सम्बन्धमा नाटकीय सुधारहरू देख्छन्। उदाहरणको लागि, साना बच्चाहरू जो अरूसँग शारीरिक र भावनात्मक सान्त्वना र घनिष्टता अभिव्यक्त गर्न असमर्थ छन्, वा त्यसो गर्न गाह्रो छ, सजिलैसँग घोडा वा अन्य जनावरको साथ यस्तो प्रकारको बन्धन हुन सक्छ ।
पशु–सहयोगी मनोचिकित्साले सेवाग्राहीमा पर्याप्त मनोवैज्ञानिक र शारीरिक लाभ प्रदान गर्दछ । यस उपचारको माध्यम वाट मानसिक स्वास्थ्यमा सुधारको अनुभव गर्न सक्छन्
जस्तैः
- तनाव स्तरमा कमी
- क्रोध र आक्रमकतामा न्यूनिकरण
- आफू र अरू प्रति कम शत्रुता
- सामाजिक अन्तरक्रिया सुधार
- हृदय गति र रक्तचाप कम
- आत्म–सम्मान, धैर्य, र विश्वास मा सुधार
- सशक्तिकरणको अनुभूति
सम्बन्धहरू मनोसामाजिक सुस्वास्थ्यकोे आधारभूत तत्व हो । हाम्रा चाडपर्वमा खासगरी सम्बन्धहरू बिस्तार गरि आफ्नोपन वृद्धि गर्न सहयोगी सिद्ध भएका पाइन्छन् । प्रायः हाम्रो सम्बन्धको माध्यमबाट जोडिएको छ, उदाहरणको लागि, ठूलो आनन्द, अर्थ, हाँसो, सम्बन्धको भावना, र उपलब्धीमा गर्व आदि । अरूसँगको पारस्परिक अन्तर्वैयक्तिक सम्बन्धले जीवनमा उद्देश्य र अर्थ दिन सक्छ । अनुसन्धानले अरूको लागि दयालु कार्यहरू गर्दा मनोसामाजिक सुस्वास्थ्यमा वृद्धि हुन्छ भन्ने देखाएको छ ।
अरू चाडमा भन्दा दसैँको वेला शिक्षा र रोजगारीका लागि शहरी क्षेत्रमा बसोबास गरिरहेका मानिसहरू ग्रामीण क्षेत्रतर्फ जाने गर्दछन । यसले आत्मियतामा बढावा पाउने अवसर पाउँछ । जसलाई व्यक्तिले आफ्नो उपलब्धी भएको मान्छ । मान्छे आफ्नै कामको लागि उपलब्धी, क्षमता, सफलता, र महारत को काम गर्दछ जस्तै कार्यस्थल, खेल, शौक (जुवातास, मनोरन्जनात्मक क्रियाकलाप) आदि ।
जसलाई आधुनिक मनोविज्ञान र मनोचिकित्साको युगमा सांस्कृतिक लचकता र मानसिक सुस्वास्थ्य कायम गर्नको लागि उपयोग गर्नको लागि सांस्कृतिक लचकतामा आधारित मनोचिकित्साको खोज अनुसन्धानमा बेलैमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । जसले सांस्कृतिको जर्गेना कासाथै कलामा आधारित सांस्कृतिक लचकताको प्रवर्द्धन पनि गर्न सकिन्छ ।
(डा. ठगुन्नाले मनोविज्ञानमा विद्यावारिधी गरेका छन् । उनी मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष समेत रहेका उनले पिके क्याम्पसमा मनोविज्ञान तर्फ एमएका विद्यार्थीलाई अध्यापन गराउँछन् ।)