
मोरङ-मोरङको लेटाङ नगरपालिकाबाट १ लाख ८८ हजार रुपैयासहित प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार लेटाङको जाँतेबाट स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा लेटाङ–९ का ४५ वर्षीय दधिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जित गजमेर र ५२ वर्षीय नरध्वज खड्का पक्राउ परेका हुन्।
त्यसैगरि, ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय शिरीकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ–३ का यमकुमार शेर्पापनि पक्राउ परेको उनले बताए।
उनीहरुको साथबाट १ लाख ८८ हजार ७ सय ४५ रुपैयाँ र कौडा १ सेट, तास ६ बुक तथा १६ थान मोबाइल प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।