
काठमाडौँ-वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सिस्टम इन्जिनियर नविन लिम्बुको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट निधन भएको छ।
४५ वर्षीया लिम्बुको लक्ष्मी पुजाको दिन टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
उनलाई धरानमा ससुराको काजक्रियाको क्रममा सहभागी हुँदा कोरोना संक्रमण भएको थियो।
उनलाई दशैंको टीकाको दिन नै टेकुमा अस्पताल भर्ना गरिएको थियो
उनलाई कोभिड-१९ को उपचारमा प्रयोग गरिने रेमिडिसिर दिइएको थियो भने प्लाज्मा थेरापी समेत गरिएको थियो।
वर्ल्ड लिंकमा उनी निकै शसक्त र दक्ष सिस्टम इन्जिनियरको रुपमा भएकाले सिस्टम म्यानेजरको रुपमा कार्यरत थिए।
उनी लिनक्स सिस्टम एडमिनिस्ट्रेशनका बृहत जानकारी र अनुभव भएका इन्जिनियर रहेका थिए।
वर्ल्डलिंक कम्युनिकेसन्सका अनुसार उनी यसअघि इन्टरप्राइज सपोर्ट हेडको रुपमा २ वर्ष काम गरेका थिए।
वर्ल्डलिंकमा काम गर्नुअघि उनी क्लासिक टेकमा टेक्निकल जनरल म्यानेजरका रुपमा काम गरेका थिए भने त्यसअघि उनले हिमाल टेक्नोलोजीमा काम गरिसकेका थिए।
उनी हेल्थनेट लगायतका सामाजिक संस्थाहरुमा समेत परामर्शदाताको रुपमा कार्यरत थिए ।
लिम्बुले काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जिनियरिङ्गमा ब्याचलर गरेका थिए।
उनको श्रीमतीसहित एक छोरा र एक छोरी छिन्।