
काठमाडौँ- नेपाल क्रिकेट संघ-क्यानले नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटको आयोजना भारतीय कम्पनीलाई दिने तयारी गरेको छ।
भारतको स्पोर्टस-७ ले एनपीएल आयोजनाका लागि प्रस्ताव गरेको क्यानका एक अधिकारीले जानकारी दिए। क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारण सभामा स्पोर्टस-७ ले गरेको उक्त प्रस्तावबारे छलफल भएको थियो।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले भारतीय कम्पनीले प्रस्ताव गरेको स्विकार गर्दै त्यस विषयमा साधारण सभामा छलफल भएको जानकारी दिए। ‘स्पोर्टस-७ ले एनपीएल आयोजनाका लागि प्रस्ताव गरेको छ। साधारण सभामा विभिन्न सुझावहरु आएका छन्। यसबारे निर्णय गर्ने अधिकार क्यान बोर्डलाई दिइएको छ’, सचिव प्याकुरेलले भने।
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने देशको नाममा आयोजना हुने व्यावशायीक क्रिकेट प्रतियोगिताहरु सम्बन्धित बोर्डले आयोजना गर्ने गर्दछन्। सचिव पोखरेलले क्रिकेटको विकाश, प्रायोजनलगायत विषयलाई ध्यानमा राखेर निर्णय हुने बताए।
यसअघि जोरा स्पोर्टस नामक कम्पनीले एनपीएल नाममा प्रतियोगिता आयोजना गरेपछि क्यानले आपत्ती जनाएको थियो। जोराले पछि नेपाल प्रिमियर लिगको नाम परिवर्तन गरि एभरेस्ट प्रिमियर लिगका रुपमा प्रतियोगिता आयोजना गरिरहेको छ।