
बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुग्न सफल भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गरेर समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम चार टिम युक्त फाइनल्समा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे । यस्तै बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे ।
तेस्रो मिनेटमा नै यूरीले गोल गरि बेल्जियमलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे ।
लुकाकुले ५७ र ६९ औँ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेर डेनमार्कको खातामा एक गोल थपे । डी ब्रूयनाले ८७ औँ मिनेटमा गोल गरि बेल्जियमको ४–२ को जित निश्चित गरेका हुन् ।
जितपछि बेल्जियमको १५ तथा डेनमार्कको १० अंक भयो ।
सोही समूह अन्तर्गत भएको अर्को खेलमा इंग्ल्याण्डले १० खेलाडीमा सीमित भएको आइसल्याण्डलाई ४–० ले पराजित गर्न सफल भयो ।
घरेलु मैदानमा भएको खेलमा पिल फोडिनले ८० र ८४ औँ मिनेटमा गरि दुई गोल गरे । त्यसअघि २४ औँ मिनेटमा म्यासन माउन्ट तथा २० औँ मिनेटमा डेक्लन राइसले गोल गरेका थिए ।
आइसल्याण्डका बिरकिर साएभार्सन ५४ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
जित निकालेको इंग्ल्याण्ड १० अंकसहित समूहको तेस्रो स्थानमा रह्यो। यो प्रतियोगितामा आइसल्याण्डले एक खेल पनि जित्न वा बराबरी गर्न सकेन ।