
वीरगञ्ज – छुट्टाछुट्टै मोटररसाइकल दुर्घटनामा परि बारामा एक प्रहरी जवानको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
बारा महागढीमाई नगरपालिका ८ जोलगाभा थलही पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका १ बस्ने २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको हो।
लङ्गडाचोकबाट बरियारपुर तर्फ जाँदै गरेको ना६२प.३६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा साहको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
मृतक साह प्रहरी जवान रहेको तथा उनी पर्साको प्रहरी चौकी खेसराहामा कार्यरत रहेको मिश्रले बताए ।
मोटरसाइकलमा सवार .१८ वर्षीय सञ्जय प्रसाद यादव घाइते भएका छन्।
यस्तै जितपुरसिमरा उपमहानगरपालिका २३ डाबर अगाडि वीरगञ्जबाट जितपुर तर्फ जाँदै गरेको ना३२प.४२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।
दुर्घटनामा परि चालक जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरा बस्ने ४५ वर्षीय महेन्द्र साह, र पछाडि सवार उनका नाति १२ वर्षीय अभय कुमार साह गम्भीर घाइते भएका हुन्।
दुवैको टाउको, अनुहारमा चोट लागेको र बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जितपुरसिमरा उपमहानगरपालिका ७ बकुलियामा प्रदेश न.२–०३–००६ प८४८५ नम्बरको स्कुटी, विपरीत दिशाबाट आउँदै गरेको ना१९प २९२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
दुर्घनामा स्कुटी चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ सिखर टोल बस्ने ४५ वर्षीय उमेश साह र पछाडि बसेका ३८ वर्षीय मनोज साह घाइते भएका हुन्।
त्यस्तै प्रसौनी गाउँपालिका २ हनुमान मन्दिर स्थित कलैया वीरगञ्ज सडक खण्डमा ना११प ३०५४ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार सोही गाउँपालिका ४ खुटवा बस्ने १८ वर्षीय बिहारी महतो धानुक घाइते भएका छन्।
सोही सडक खण्डमा ना६१प ३२१ नम्बरको माटरसाइकलले पैदल यात्री परवानीपुर गाउँपालिका.५ बस्ने ३७ वर्षीय रुपेश प्रसाद कुर्मीलाई ठक्कर दिएर घाइते बनाएको छ।