काठमाडाैँ – भनिन्छ, ‘व्यवसायमा जति धेरै जोखिम त्यति धेरै नाफा।’ यही भनाइलाई अवलम्बन गर्दै ललितपुरस्थित सानेपामा दुई दिदीबहिनी
कोरोना महामारीले धेरैको व्यवसाय ठप्प भयो, कैयौँ बेरोजगार । तर दुई दिदीबहिनीले महामारीलाई अवसरका रुपमा लिए। उनीहरुले ‘क्रिस्प पिज्जेरिया’ नामक पिज्जा हाउस सञ्चालनमा ल्याए।
यस नयाँ उद्यमका लागि उनीहरुले महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ सहुलियत ऋण निकालेर सबै भौतिक पूर्वाधार जोडे।
अर्थ मन्त्रालयले असोज ७ गतेदेखि लागू हुने गरी ल्याएको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको छ।
उक्त ऋणका लागि उद्यम गर्ने महिला १८ वर्ष पूरा भएका हुनुपर्ने र व्यक्तिगत वा सामूहिक रुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितो राखेर ऋण पाउने छन्।
यसरी पाएको ऋणको ब्याजमा ६ प्रतिशत सरकारले तिरिदिने छ भने बाँकी ऋणी आफैले ।
सहुलियत कर्जा लिन आफूहरुलाई कुनै झन्झट नभएको उनीहरु बताउँछन्।
नयाँ उद्यम सञ्चालनमा ल्याउन उनीहरुको परिवारको ठूलो हात छ। परिवारको साथ र सहयोगले नै कोरोनाका कहरकाबीच नयाँ कामको थालनी गर्न सहज भएको वातसला बताउँछिन्।
उसो त उनी यसभन्दा पहिले आफ्नै परिवारको होटल व्यवसायमा सघाउँथिन्। उनको परिवारिक व्यवसाय होटल हो। उनले पारिवारिक व्यवसायमा दुई वर्ष बिताइन् । त्यहाँ सिकेको सिपलाई नयाँ व्यवसायमा जोडेर अगाडि बढाउने उनी बताउँछिन्।
‘हाम्रो परिवारको पोखरामा बुटिक होटल छ। त्यहाँ मैले २ वर्ष फाइनान्स हेर्थेँ,’ उनले भनिन्, ‘कोरोनाका कारणले टुरिजम सेक्टरमा निकै प्रभाव पर्यो। जसले गर्दा हामीसँग फ्री टाइम पनि भयो। परिवारका सबै जना एकदमै फुडी हुनुहुन्छ। विशेषगरी पिज्जा सबैले मन पराउनु हुन्छ। हामीले खोजेजस्तो पिज्जा पनि बजारमा पाएनाैँ। त्यसपछि हामीले घरमा नै बनायौँ। हामीले सोच्यौँ यो फ्री समयमा हामी नै किन सुरु नगर्ने। अहिले टुरिजम सेक्टर पनि राम्रो छ। त्यसपछि हामीले सुरु गर्यौँ ।’
उनीहरुले सञ्चालनमा ल्याएको सातामै कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो। त्योसँगै उनीहरुको व्यवसायमा पनि ‘लक’ लाग्यो।
उनीहरुको व्यवसायको ‘लक’ सरकारले पूर्ण रुपमा लकडाउन खोलेपछि मात्रै खुल्यो।
दिदीबहिनीले सुरु गरेको व्यवसायलाई बहिनी मेघनाले निरन्तरता दिने छिन् भने दिदी वत्सलाले परिवारको व्यवसायसँगै बहिनीलाई पनि सघाउने छिन्।
मेघना भन्छिन्, ‘परिवारको बिजनेश भए पनि हामी आफैले केही गरौँ भनेर आफ्नो व्यवसाय सुरु गरेका हाैँ। यसमा मैले फुल टाइम दिन्छु। मेरो धेरै यसमा अनुभव नभए पनि दिदीले मलाई हेल्प गर्नुहुन्छ। हामी दुवै जना मिलेर अगाडि बढ्छाैँ।’
व्यवसाय सञ्चालनमा आएसँगै व्यापार राम्रै भइरहेको उनीहरुले बताए।
‘हामीले सुरु गरेको व्यवसाय राम्रो हुन्छ र सबैले मन पराउनु हुन्छ भन्ने सकारात्मक सोचका साथ सुरु गरेका थियौँ’, उनीहरु एकसाथ भन्छन्, ‘लकडाउन खुलेपछि राम्रै भइरहेको छ। सबैको राम्रो रेसपोन्स आइरहेको छ। १५ देखि २० वटा पिज्जाको दैनिक अर्डर आउँछ।’
उनीहरुले तयार पार्ने पिज्जाको मूल्य ५–६ सय रुपैयाँसम्म पर्छ। विषेश पिज्जालाई नै फोकस गरेर सञ्चालनमा ल्याएको ‘‘क्रिस्प पिज्जेरिया’ मा ‘डबल चिज, फार्महाउस, स्पाइसी पनिर, सलामी, बार्बिक्यु पनिर चिकेन र चिकेन पिस्ता पिज्जा’ को स्वाद लिन सकिन्छ।
पिज्जाको स्वाद लिन फुडमाण्डुबाट अर्डर गर्न सकिने मेघनाले बताइन्।
‘कोरोना भाइरसका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले हाम्रो आउलेटमा बसेर खान दिएका छैनाैँ। अहिले ‘टेकअवे’ गरेका छाैँ। फुडमाण्डु, भोज डिल्स, र तातो–मिठोमा अर्डर गर्न सकिन्छ’, उनले भनिन्।
विषेश पिज्जालाई फोकस गरेको भएर अहिले आफूहरुले अन्य धेरै आइटम नराखेको उनीहरुले बताए। ‘अहिले धेरै आइटम राखेका छैनौँ। मेनु भनेकै पिज्जा हो। अरु कफी लगायतका छन्। यहाँ पिज्जा बजारको मूल्यमा नै पाइन्छ’, उनीहरुले भने।
बजारमा इटालियन पिज्जाहरु राम्रो क्वालिटीको पाइए पनि थिक बेसमा पिज्जा नपाउँदा आफूहरुले अध्ययन गरर सुरु गरेको उनीहरु बताउँछन्।
उनीहरुले पिज्जामा नेपाली स्वाद ल्याउनका लागि काम गरिरहेको बताएका छन्।
‘पिज्जामा नेपाली स्वाद ल्याउनका लागि घरमा तीन महिना अध्ययन गर्यौँ’, उनीहरुले भने, ‘घरमा धेरै नेपाली इनग्रिडियन्टसँग मिक्सम्याच गरेर यसको स्वाद हेर्यौँ। हामीले पिज्जालाई सकेसम्म नेपाली स्वाद दिन खोजेका छौँ।’
उनीहरुले सुरु गरेको पिज्जालाई नेपाली ब्राण्ड बनाउने तयारी पनि गरिरहेका छन्।
भिडियो यहाँ हेर्नुहोस्: