
बलिउड अभिनेत्री कंगना रनौट र बृहन्मुम्बई नगर निगम (बीएमसी)बीचको विवादमाथि बम्बे हाइकोर्टले शुक्रबार कंगनाका पक्षमा फैसला गरेको छ।
हाइकोर्टले बीएमसीले गलत नियतका साथ कंगनाको अफिसमा डोजर चलाएको फैसलामा उल्लेख गरेको छ। अदालतले कुनै पनि नागरिकका विरुद्ध शक्तिको दुरुपयोग गर्न स्वीकृत दिन नसकिने बताएको छ।
साथै अदालतले कंगनालाई सार्वजनिक मञ्चमा बोल्दा संयमता अपनाउन पनि भनेको छ।
गत सेप्टेम्बर ९ मा कंगना रनौटको मुम्बईस्थित अफिसमा बीएमसीले डोजर चलाएको थियो। कंगनाले उक्त बिल्डिङमा गैरकानुनी तवरबाट संरचना बनाएको भन्दै बीएमसीले भत्काएको थियो।
तर कंगनाले भने आफूले कुनै गैरकानुनी संरचना नबनाएको र बीएमसीले पूर्वाग्रहका साथ आफ्नो घरमा डोजर चलाएको भन्दै अदालत गएकी थिइन्।
कंगनाले मुम्बईलाई पाकिस्तान नियन्त्रित कस्मिरसँग तुलना गरेपछि महाराष्ट्रमा सरकारको नेतृत्व गरिरहेको शिव सेना र कंगनाबीच तनाव बढेको थियो।
बीएमसीविरुद्ध अदालत पुगेकी कंगनाले दुई करोड रुपैयाँ क्षतिपूर्तिको माग समेत गरेकी थिइन्। बीएमसीको तोडफोडबाट भएको क्षति मूल्यांकन गर्न अदालतले मुल्यांकनकर्ता समेत तोकेको छ।
अदालतको फैसलापछि कंगनाले लोकतन्त्रको जित भएको बताएकी छन्।