
काठमाडौँ – उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव शनिबार भइरहेको छ ।
महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि उपत्यकाका तीन ठाउँमा मतदान भइराखेको छ । जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए ।
वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताए ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा छन् ।
तीनवटै निर्वाचन केन्द्रहरुमा पुग्दा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानसमूहका उम्मेदवारहरुले आफूतिर बढिभन्दा बढि मत तान्ने प्रयास गरिराखेको देखिएको छ ।
निर्वाचन केन्द्रमा भेटिनु भएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । यस्तै निर्वाचन सम्पन्न भएपछि कुनै पनि पक्ष विपक्ष नभई महासंघ एउटै हुने पनि उनको भनाई छ ।
महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बाँकी पदमा चुनाव भइरहेको छ ।
महासंघको ५४ औँ साधारणसभा यही मंसिर ११ गतेदेखि सुरु भएको थियो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।