
पर्सा-बाराको कलैया उप-महानगरपालिकामा निर्माण हुने सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको सोमबार शिलान्यास गरिएको छ।
अस्पतालको एक कार्यक्रमकाबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका हुन। कलैया उपमहानगरपालिका वडा नम्बर १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको निर्माण हुन लागेको हो।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्नेछ। शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रादेशिक गौरवको योजनाको रुपमा अघि बढ्ने यस अस्पतालको निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताए।
प्रदेश नम्बर २ समाजिक बिकास मन्त्रालयका सचीव कृष्ण काप्रीले अस्पतालका लागि ३२ करोड बजेट संघ सरकारबाट बितिय हस्तान्तरण भएर आउने जानकारी दिएका थिए। उनले ७ बिघा जगामा निर्माण हुने अस्पताल बहुबर्षिय योजनामा रहेको बताएका थिए।
शिलान्यास कार्यक्रममा सांसद रामबाबु कुमार यादव ,रामसहाय प्रसाद यादव, प्रदेश साँसद पारस प्रसाद साह ,ज्वाला साह, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव लगायतको सहभागिता रहेको थियो।