
एक नयाँ अध्ययन अनुसार जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय पेरिस सम्झौताले तय गरेको लक्ष्य प्राप्त हुने सम्भावना देखिएको छ।
क्लाइमेट एक्सन ट्रयाकर समूहले गरेको चीन तथा अरु देश र अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनबाट कार्बन उत्सर्जन कम गर्ने सम्बन्धमा आएको प्रतिवद्धताले आश जगाएको उल्लेख गरेको छ ।
पछिल्लो पटक आएका प्रतिवद्धता र भइरहेका कामका आधारमा विश्वको तापक्रम वृद्धि यो शाताब्दीको अन्त्यसम्ममा २.१ डिग्री सेल्सियसमा सीमित गर्न सकिने देखिएको जनाइएको छ ।
यसअघिको आँकलनमा तापक्रम वृद्धि ३ डिग्री सेल्सियससम्म हुने र त्यसको गम्भीर प्रभाव पर्ने अनुमान थियो ।
पछिल्ला प्रतिवद्धताहरुले आश जगाए पनि छोटो अवधिमा गरिने कार्बन उत्सर्जन कटौतिकै आधारमा दीर्घकालीन रुपमा आशावादी हुन भने नसकिने विज्ञले बताएका छन् ।
एक दशक भन्दा लामो समयदेखि क्लाइमेट एक्सन ट्रयाकरका अनुसन्धानकर्ताहरुले कार्बन उत्सर्जन कम गर्नका लागि गरेका प्रतिवद्धता र कामहरुको प्रभाव विश्वव्याप तापक्रम वृद्धिमा कस्तो रहन्छ भन्ने हेरिरहेका छन् ।
सन् २००९ मा कोपनहेगनमा भएको सम्मेलन असफल भएपछि विज्ञहरुले यो शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धि ३.५ डिग्री सेल्सियस हुने आँकलन गरेका थिए ।
तर सन् २०१५ मा पेरिस सम्झौता भएपछि जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आशा जागेको हो ।
गएको सेप्टेम्बरमा वैज्ञानिकहरुले विश्व सन् २१०० सम्ममा २.७ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने मार्गमा रहेको बताएका थिए । तर उनीहरुको हालको आशावादी विश्लेषणले तापक्रम वृद्धि सन् २१०० सम्ममा २.१ डिग्री सेल्सियसमा सीमित हुने आँकलन गरेका छन् ।