
सिमकोट- संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको विवादले नेकपा कहिल्यै नफुट्ने बताएका छन्।
मंगलबार सिमकोट विमानस्थलको अनुगमन गर्न आएका मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुसँगको भेटका अवसरमा सो कुरा बताएका हुन्।
नेकपाका नेता तथा कार्यकर्तालाई हुम्लाको एक होटेलमा सम्बोधन गर्दै मन्त्री भट्टराईले नफुट्ने ठोकुवा गरे। तर पार्टी नफुट्ने आधार र गरिएका प्रयासबारे भने केही खुलाएनन्।
मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा ठुलो पार्टी भएको कारण केही समस्या देखिनु स्वभाविक भएपनि अहिलेको यो समस्याकै कारण पार्टी कुनै पनि हालतमा नफुट्ने बताए। बेलाबेलामा नेकपामा आउने यस्ता केही व्यवधानले समाधान पाउने गरेको बताउँदै अहिलेको समस्या पनि चाँडै टुङ्गिने भनाइ राखे।
दुई विशाल पार्टी मिलेर नेकपा बन्दा नेताहरु धेरै भएको र सबैमा आकांक्षा देखा पर्नु स्वभाविक भएको उनको तर्क थियो। मन्त्री भट्टराईले अहिले दुई अध्यक्षबीच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने पनि बताए।
मन्त्री भट्टराईले मुलुकको सम्बृद्धि नेकपाको मिलनले मात्र सम्भव बताउँदै उनले त्यसलाई पूरा गर्न नेकपाको मिलन अनिवार्य रहेको बताए। नेकपाको एकता बलियो भयो भने मुलुकमा पचास वर्षसम्म निर्वाचनमा विजयी हुने ठोकुवा गर्दै उनले त्यसका लागि सबैमा सुझबुझ हुनु जरुरी रहेको भनाइ राखे।
यसअघि हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले हुम्लाका समस्याका बारेमा मन्त्री भट्टराईलाई जानकारी गराएका थिए। हुम्लाको बस्तुस्थितिका बारेमा मन्त्री भट्टराईलाई प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले जानकारी गराएका थिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी, पार्टी अध्यक्ष लालकेश जैसी लगाएको उपस्थिति रहेको थियो।