
झापा- झापाको मेचीनगर– ६ काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा रहेको भारत तथा अन्य मुलुकबाट स्थल मार्ग हुँदै नेपाल आउँदा पहिलो सम्पर्कस्थल होल्डिङ सेन्टर अन्ततः हटाइएको छ।
व्यवसायीको लगातारको विरोधपछि मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा रहेको होल्डिङ सेन्टर हटाइएको हो।
भारत लगायत तेस्रो मुलुकबाट आउने नेपाली नागरिक सोझै गन्तव्यतर्फ जान दिने वातावरण श्रृजना गरिएको मेचीनगर वडा नं ६ का अध्यक्ष ललित तामाङले बताए।
अबदेखि मेची भन्सार कार्यालय नजिक रहेको डेस्कमा भारत तथा अन्य मुलुकबाट आउनेले सम्पर्क गर्नु पर्नेछ।
सोही डेस्कमा प्रशासनको सहकार्यमा प्रारम्भिक स्वास्थ्य चेक जाँच गरी नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई गन्तव्यतर्फ पठाइनेछ।
विगत ८ महिनादेखि सञ्चालनमा रहेको होल्डिङ सेन्टरका कारण विद्यालयको पठनपाठनमा समेत असुविधा भएको गुनासो बढेको थियो।
होल्डिङ सेन्टरमा पर्यटक र आगन्तुकसंग मनोमानी ढंगमा भाडा असुल्ने गरेको र बेथिति बढेको गुनासो बढेको थियो।
काँकरभिट्टामा विगत केही दिनदेखि स्थानीयबासी तथा व्यवसायीले लगातार प्रदर्शन गर्दै आएका थिए।