
काठमाडौँ- आइतबारको स्थायी कमिटी बैठकमा सहभागी नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सबै सदस्यहरुलाई सम्बोधन गरेर पत्र पठाउनुलाई उनी उपस्थित भएको रुपमा आफूले बुझेको बताएका छन्।
बैठकपछि कुरा गर्दै नेता रावलले भने- आज प्रधानमन्त्री ओलीले हामी सबैलाई सम्बोधन गरेर पत्र पठाउनु भनेको उहाँ भौतिक रुपमा उपस्थित भएको भनी हामीले बुझेका छौँ। उहाँ पत्रका माध्यमबाट बैठकमा आउनुभएको हो।’
नेता रावलले स्थायी कमिटी बैठकले लचकता अपनाउँदै मंसिर २८ का लागि अर्को स्थायी कमिटी र पुस ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी गराए।
‘अहिले हामीले लचकता अपनाएका छौँ,’ उनले भने, ‘आगामी बैठकहरुबाट पार्टीले ठोस निर्णय लिन्छ।’
अर्का स्थायी कमिटी सदस्य मातृका यादवले पुष्पकमल दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने भनी अध्यक्ष ओलीले राखेको प्रस्ताव अनुपयुक्त भएको बताए।
‘अध्यक्ष दाहालको प्रस्ताव फिर्ता हुँदैन, यसबारे पर्याप्त छलफल हुनुपर्छ,’ उनले भने।