
नयाँ दिल्ली- रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीले भारतमा सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा फाइभजी प्रविधि ल्याउने घोषणा गरेका छन्।
इन्डियन मोबाइल कंग्रेस (आईएमसी २०२०) मा बोल्ने क्रममा अम्बानीले सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा भारतले फाइभजी प्रविधिको नेतृत्व गर्ने बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
भारत लगायत विश्वभरी नै कोरोनाको महामारी चलिरँदा इन्डियन मोबाइल कंग्रेसले पनि आफ्नो चौथो कार्यक्रम अनलाइन मार्फत नै सञ्चालन गरिरहेको छ, जसमा ३० भन्दा बढी देश, २१० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले सहभागी जनाएका छन्।
मोबाइल कांग्रेसमा बोल्दै उनले भारतमा फाइभजी प्रविधि र स्मार्टफोनको उपलब्धतालाई सुनिश्चित गर्न ‘अर्जेन्ट पोलिसी स्टेप्स’ पहिल्याउनु पर्ने बताए।
उनले भने, ‘भारतमा रिलायन्स जियोले सन् २०१२को दोस्रो अर्धवार्षिक अवधिमा फाइजी सार्वजनिक गर्नेछ। जसले भारतभर नेतृत्वसहित क्रान्ति लिएर आउनेछ।’
उनका अनुसार रिलायन्स जियोले ल्याएको फाइभजीको क्रान्ति भारतमै बनेको नेटवर्क, हार्डवेयर र प्रविधिका उपकरणमाथि आधारित हुनेछ।
यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डिया मिसनलाई प्रशंसा गर्दै कोरोना महामारीमा फाइभजीले झन डिजिटल लाइफ लाइन भएको बताए। उनले भने, ‘ भारत चाँडै नै सफ्टवेयरसँगै हार्डवेयरमा पनि अब्बल हुनेछ भने प्रविधिमा नेतृत्व गर्नको लागि सदैव तयार रहनेछ।’
यतिमात्रै नभएर उनले भारत सरकारलाई चार सुझाव दिएका छन्। पहिलो अम्बानीले करीब ३० करोड भारतीय टुजी प्रयोगकर्तालाई स्मार्टफोनमा शिफ्ट गर्न र फाइभजीका लागि तत्काल सरकारसँग नीतिगत कदम चाल्न आग्रह गरेका छन्।
दोस्रो उनले फाइभजीले भारतीय अर्थव्यवस्थामा तीव्र वृद्धि मात्रै नभएर यसले अप्रत्यासित आर्थिक वृद्धिदरका साथै समृद्धि ल्याउन सरकारलाई मद्दत पुर्याउँने जिकिर गरेका छन्।
यस्तै उनले भारत ५ लाख करोड डलरको अर्थ व्यवस्था बनाएर आलोचकलाई समेत गलत साबित गर्न सक्ने दाबी उनले तेस्रो सुझावको रुपमा दिएका छन्।
त्यसैगरी उनले तीन डीलाई आधार मान्दै डेमोक्रेसी, डेमोग्राफी र डिजिटल ट्रान्सफरमेशनलाई जोड्दै चौथो सुझाव दिएका छन्।
आफ्नो मन्तव्यको क्रममा रिलायन्स जियोको उपलब्धिको बारेमा समेत उल्लेख गर्दै उनले आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, बिग डेटा, मसिन लर्निङ, इन्टरनेट अफ थिङ्स, वित्तीय सेवा र न्युकमर्स क्षेत्रका विश्वस्तरिय २० वटा स्टार्टअप पार्टनरसँग काम गरिरहेको जानकारी गराए ।
‘भारतले चिप डिजाइनमा वर्ल्ड क्लास स्ट्रेन्थ बनाइसकेको छ,’ उनले भने, ‘भारतलाई स्टेट अफ द आर्ट सेमिकन्डक्टर इन्डस्ट्रीको हब बन्दै गरेको देखिरहेको छु।’