
काठमाडौँ- कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहँदा सरकारले विद्यालय तहका पठनपाठनका लागि ‘ई-क्लास नेपाल’ नेपाल नामको मोबाइल एप सार्वजनिक गरेको छ।‘ई-क्लास नेपाल’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव श्रोत विकास केन्द्रको सहकार्यमा विद्यालय तहका पठनपाठनका लागि पाठ्यक्रम पाठ्यपुस्तक, विभिन्न खालका शिकाई सामग्री प्रदान मिल्ने गरी एप तयार पारेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।
उनले नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमणपछि विद्यालय तका शैक्षिक क्षेत्रलाई नयाँ तरिकाले अघि बढाउने उद्देश्य अनुरुप यो एप सार्वजनिक गरिएको बताए। उनका अनुसार कक्षा १० सम्मका अनिवार्य विषयका सामग्री राखिएको मोबाइल एप विद्यालय तथा शिक्षक समक्ष पुर्याउने सरकारको योजना रहेको छ।
सामान्य मोबाइल र इन्टरनेटको सहायतामा यो एपमा गएर पढ्न सकिने सामग्री उपलब्ध हुनेछन्। यसबाट मुख्य गरी विद्यालय तहका विद्यार्थी लाभान्वित हुने मन्त्री पोखरेलको भनाई छ ।
यस्तै मन्त्रालयका सचिव गोपीनाश्च मैनालीले विद्यार्थी शिक्षकको सिकाई अभिवृद्धि गर्न मोबाइल एप उपयोगी हुने विचार व्यक्त गरे। हाल यो एप एन्ड्रोइड मोबाइलका लागि मात्र उपलब्ध छ । उनले भने, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार पारेका सामग्री रहेको थियो। तर सिकाई चौतारीको वेबसाइटमा विद्यार्थीलाई पहुँच पाउन झन्झटिलो भए पछि सहजताका लागि एप तयार पारिएको हो। अब सजलै विद्यार्थीहरुले अध्ययन गर्न सक्नेछन्।’
यसका साथै अबको एक दुई हप्तामा आईओएस एप स्टोरमा पनि उपलब्ध हुने शिक्षा विभागका महानिर्देशक बैकुण्ठ अर्यालले जानकारी दिएका छन्। तर यसमा पोर्टलमा भन्दा बढी सामग्री राखिएका छन् । यस अघिदेखि टेलिभिजनबाट प्रशारण भइरहेका कक्षाहरुको समेत भिडियो सामग्री एपमा पाउन सकिन्छ ।
यसमा रहेका सामग्रीमा कक्षागत, पाठगत र विषयगत रुपमा विद्यार्थीले सहजै पहुँच बनाउन सक्नेन्छन् भने एपमा शिक्षक निर्देशिका, टेक्ट बुक (पीडीएफ फर्म्याटका पुस्तक) विद्यार्थी मूल्याङ्कन सामग्रीलाई व्यवस्थित रुपमा राखिएको छ।
त्यतिमात्र नभएर शिक्षक निर्देशिकामा भने शिक्षकबाट रजिस्टर गरेपछि मात्र पहुँच पाउने व्यवस्था गरिएको छ। उक्त एपमा नमूना प्रश्नपत्र समेत राखिएका छन्।
यसरी गर्नुहोस् एपको प्रयोग
एन्ड्रोइडमा यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
अब एप खोल्नुहोस् र विद्यार्थी वा शिक्षक कुन रुपमा रजिस्टर हुन चाहनुहुन्छ रोज्नुहोस् ।
यदि विद्यार्थीको रुपमा रजिस्टर हुन चाहुनुहुन्छ भने स्टुडेन्ट रजिस्ट्रेसन लेखिएको निलो बटनमा थिच्नुहोस्।
अब त्यसमा आफ्नो नाम, फोन नम्बर, जिल्ला, वडा नम्बर, कक्षा र अभिभावकको नाम जस्ता विवरण भरेर सबमिट बटनमा थिच्नुहोस् ।
यतिगरेपछि तपाईं एपभित्र पुग्नुहुनेछ। त्यसमा आफ्नो कक्षा छनौट गर्नुहोस् ।
अब त्यहाँ रहेका विषयहरु छानेर पुस्तक पढ्न, ट्युटोरियल हेर्न, पाठ्यक्रम थाहा पाउन, नमूना प्रश्नपत्र खोज्न सक्नुहुनेछ।