
काठमाडौँ– जंगली जनावरले धानवाली नष्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायिक बेसार खेतीतर्फ आकर्षित भएका छन्।
उत्पादन भएको धान जनावरले नष्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेती सुरु गरेका हुन्।
मधुवन नगरपालिकाको बेसार खेती पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वर्ल्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेती सुरु गरेका हुन्।
दलित महिला उत्थान संघद्वारा सञ्चालित आर्थिक सशक्तिकरणका लागी सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेती गरिरहेका छन्।
मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले करिब १४ विघा जमिनमा बेसार खेती गरेका छन्। परम्परागत रुपमा गरिने धानमा जंगली जानावरले क्षति पुर्याएपछि किसानहरु बेसार खेतीमा आकर्षित भएका हुन्।
सामूहिक रुपमा बेसार खेती गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ।
नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यसमध्ये बेसार खेतीलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताए। नगरपालिकाले बेसार खेतीमा किसानहरुलाई प्रोत्सहित गर्न बीउ समेत उपलब्ध गराएको छ।
बेसार खेती सुरु भएपछि नगरपालिकाले अनुगमनसमेत गरेको छ। शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतीतर्फ आकर्षित गरेको हो।