
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटवार्ता गरेका छन्।
भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैँ तयार रहेको बताए।
प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई भने, ‘तपाईँहरू उद्योग व्यवसायमा लाग्नुहोस्, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ।’
प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए। साथै उनले स्वदेशी उत्पादनको प्रवर्द्धनमा लाग्न समेत आग्रह गरे।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री समक्ष महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको बताए।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए।
अध्यक्ष गोल्छाले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखि उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवलसमेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव दिए।
बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग सम्वोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसहित कोभिड पुनरूत्थान विशेष कार्यक्रम (कोभिड रिकभरी) को आवश्यकता समेत बताए।
भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो।