
झापा– प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
उनका स्वकीय सचिव छत्र कडायतका अनुसार बिहीबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
भर्ना गर्दा जति अक्सिजन चाहिन्थ्यो साँझसम्म आइपुग्दा शरीरमा अझ बढी अक्सिजन चाहिन थालेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।
उनले भने, ‘उहाँको दुईवटै फोक्सोमा निमोनिया छ। अक्सिजन ज्यादा दिनु परिरहेको छ। अहिले आईसियुमा उपचार भइरहेको छ।’
लिङदेनलाई काठमाडौँ लैजाने तयारी भइरहेको राप्रपाका नेताहरूले बताएका छन्। सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भएको उनीहरूले जानकारी दिए।
केही दिनअघि उनको कोरोना परीक्षण पनि गरिएको थियो। त्यो बेला रिपोर्ट नेगेटिभ आएको थियो। बिहीबार पनि उनको स्वाब लिइएको तर रिपोर्ट आउन बाँकी छ। विगत केही दिन अस्वस्थ्यताका कारण सांसद लिङदेन घरमै आराम गरिरहेका थिए।