
काठमाडौँ- नेपालका सन्दीप लामिछाने बिग बास लिग-बीबिएल क्रिकेट खेल्न आगामी मंगलबार अस्ट्रेलिया जाने भएका छन्। सन्दीप कतार एयरवेजको विमानमार्फत अस्ट्रेलिया पुग्नेछन्।
यसअघि प्रतियोगिताको पूर्वसन्ध्यामा कोरोना संक्रमण भएपछि सन्दीप नेपालमै ‘अड्किएका’ थिए। उनी गत साता कोरोना मुक्त भएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा थिए। बन्द प्रशिक्षण बुधबार सकिएको थियो।
उनका सहयोगी रमन शिवाकोटीका अनुसार सन्दीप अस्ट्रेलिया पुगेर दुई साता क्वारेन्टिनमा बसेपछि मात्र टोलीसँग सामेल हुनेछन्। सन्दीपले यो सिजन होबर्ट हुरिकेन्सबाट बिग बास लिग खेल्दैछन्।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा हुरिकेन्सले विजयी सुरुवात गरिसकेको छ। भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सको टोलीमा रहेर पनि एउटै खेल पनि खेल्न नपाएका सन्दीपका लागि बिग बासको प्रदर्शन महत्वपूर्ण हुने मानिएको छ।
सन्दीप टोलीमा सामेल हुनुअघि हुरिकेन्सले लिग चरणमा ६ वटा खेल खेलिसकेको हुने छ। प्रतियोगितामा ८ टोली सहभागी छन्।।