
उरुग्वेयन स्ट्राइकर एडिन्सन काभानीले सामाजिक सन्जालमा लेखेको स्टाटसलाई लिएर इंग्ल्याण्ड फुटबल संघ-एफएले छानबिन सुरु गरेको छ। काभानीविरुद्धको आरोप प्रमाणित भए उनलाई कम्तिमा तीन खेलको प्रतिबन्ध हुने एफएले जनाएको छ।
इंग्ल्याण्ड प्रिमियर लिग फुटबल अन्तर्गत साउथ ह्याम्पटनविरुद्ध भएको खेलमा इन्जुरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३-२ गोलले विजयी बनाएपछि काभानीले इन्स्टाग्राममा ‘स्पेनिस फ्रेज’ उल्लेख गरेर स्टाटस लेखेका थिए। त्यसको अर्थलाई लिएर आपत्ति जनाएपछि काभानीले हटाउँदै माफी मागेका थिए।
काभानीले लेखेको स्टाटसमा कुनै जाति विषेश वा रंगविषेशलाई दुर्व्यवहार भएको एफएको दावी छ। म्यानचेस्टर युनाइटेडले आफ्ना खेलाडीहरु कुनै पनि दुर्व्यवहारविरुद्ध नरहेको दावी गर्दै एफएको छानबिनमा सहयोग गर्ने जनाएको छ।
‘साउथ ह्याम्पटनविरुद्ध जित हात पारेपछि एक मित्रले दिएको बधाईलाई प्रतिक्रिया दिनेक्रममा काभानीले प्रयोग गरेको शब्दलाई लिएर एफएले छानबिन अगाडि बढाएको जानकारी प्राप्त भएको छ’, एफएले भनेको छ, ‘हामी र काभानी दुवै त्यस सन्देशमा कुनै दुर्व्यवहार नरहेको कुरामा स्पष्ट छौँ। काभानीले प्रयोग गरेका शब्दहरु आचारसंहिता विपरित हुन सक्ने चेतावनी पाएपछि तत्कालै हटाएर माफीसमेत मागी सकेका छन्।’
३३ वर्षीय काभानीले आफ्नो नियत कसैविरुद्ध पनि दुर्व्यवहार गर्नु नरहेको बताएका छन्। काभानी यसै सिजनदेखि म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन्। उनले म्यान युनाइटेडका लागि १० खेल खेल्दै तीन गोल गरेका छन्। लगातार सात सिजन फ्रेन्स लिग क्लब पेरिस सेन्ट जर्मन-पीएसजीका लागि खेलेर उनी इङ्लिस प्रिमियर लिगमा आएका हुन्।
यो सिजन ११ खेलबाट २० अंक भएको म्यान युनाइटेड तालिकाको नवौँ स्थानमा छ। शीर्षस्थानमा रहेको लिभरपुलको १३ खेलबाट २८ अंक छ।