
सिमकोट– हुम्लाको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य चौकीमा प्रसुती सेवा सुरु भएपछि सुत्केरी हुन महिलालाई सहज भएको छ।
यसअघि परम्परागत रुपमा घरमै सुत्केरी गराउनु पर्ने बाध्यता रहेकोमा प्रसुती सेवा सुरु भएपछि महिलाहरु त्यसतर्फ आकर्षित भएका छन्।
ताँजाकोट गाउँपालिका वडा नम्बर २ की राजपुरा सुनारले सबै सुविधा हुने भएपछि प्रसुती सेवाप्रति गर्भवती महिलाको आर्कषण बढेको बताइन्। भत्ता पनि पाउने र सुत्केरी हुन सहज भएको उनको अनुभव छ। सुनारले यसमा परिवारका सदस्यहरुले पनि सहयोग गर्ने गरेको बताइन्।
स्वास्थ चौकीका इन्चार्ज धनराज ढकालले सुरुमा प्रसुती गृह सञ्चालनमा आएपछि महिलाहरु सुत्केरी गराउन आउन लाज मान्ने भएपनि अहिले त्यो समस्या नरहेको बताए।
हुम्ला जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको उक्त गाउँपालिकामा १३० जनासम्म महिलाहरु वर्षमा प्रसुती सेवा लिन आउने गरेको ढकालले बताए।
प्रसुती सेवाका लागि साउनयता दुईजना अनमीको व्यवस्था गरिएको छ। उक्त सेवा सुरु भएपछि सुत्केरी हुन नसक्दा हेलिक्टरबाट महिलाको उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयको विश्वास छ।
गर्भवती महिलाहरु नियमित गर्भ जाँच गर्न आउने गरेको स्वास्थ्य चौकीले जनाएको छ। सदरमुकाम सिमकोटभन्दा ताँजाकोट गाउँपालिका ४८ कोस टाढा पर्छ।